१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध ‘अदालतको अवहेलना’ मुद्दा

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी।

न्यायाधीशले घुस खाएको अभिव्यक्ति दिएका कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध ‘अदालतको अवहेलना’ सम्बन्धी २ वटा मुद्दा दर्ता भएको छ।

विराटनगरमा असार १० गते एक सार्वजनिक कार्यक्रममा मन्त्री राज भण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशले घुस खाएर मुद्दामा स्टेअडर दिएको अभिव्यक्ति दिएका थिए।

विवादास्पद एवं आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्री राजभण्डारीविरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा २ वटा अलगअलग ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दा दर्ता भएको छ।

उच्च अदालतका तर्फबाट रजिस्ट्रार जितेन्द्रबाबु थपलिया र अधिवक्ता उद्धवचन्द्र घिमिरेले अलगअलग मुद्दा दायर गरेका हुन्। मन्त्री राज भण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशले स्टे अडरको आदेश गरेको आरोप लगाएका थिए। उनले न्यायाधीश फटाहा र जनताको नाममा कलंक रहेको बताएका थिए।

सरकारले गरेको निर्णयविरुद्ध सदस्यसचिव उच्च अदालत गएको बताउँदै, मन्त्री राज भण्डारीले भने, ‘हिजो त्यही अदालतमा दिएको त्यही पदका सदस्यसचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नमिल्ने र नसक्ने अदालतका न्यायाधीशले आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा तुरुन्तै स्टे अडर गर्न भ्याउँछ।’

नेपालको संविधानको धारा १३९ (२) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ (२) बमोजिमको कसुर भएका कारण अदालतको अवहेलना बन्न पुगेको उल्लेख छ। उक्त दफाको उपदफा ४ बमोजिम १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको मागदाबीसहित मन्त्री राजभण्डारीविरुद्ध अधिवक्ता घिमिरे र रजिस्ट्रार थपलियाले मुद्दा दर्ता गराएका छन्।

नेपालको संविधानको धारा १२६ (२) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (१) मा अदालतले दिएको आदेशको पालना गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था छ। संविधान र कानुनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदकहरुले गरेका छन्।

उच्च अदालत विराटनगर बार एशोसिएशनले विज्ञप्ति जारी गर्दै मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति रहेको जनाएको छ। संवैधानिक कर्तव्य बिर्सिएर अप्रमाणित र गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै न्यायालयप्रति जनतामा भ्रम सिर्जना गर्ने काम मन्त्रीबाट भएको ठहर बार एशोसिएशनले गरेको एशोसिएशनका अध्यक्ष विश्वराम भट्टटराई र सचिव विनोदकुमार तिमल्सिनाद्वयले विज्ञप्ति जारी गर्दै न्यायाधीशमाथि मन्त्री राज भण्डारीले लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन्। 

प्रकाशित: १२ असार २०८० १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App