नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन्।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए। पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने उनले स्पष्ट पारे।
उनले १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट सरकारको नेर्तत्व कसले गर्छ? भन्ने कुराको टुंगो लाग्ने बताए। उनले १५ औं महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताए।
उनले भने, ‘सम्भवतः नेपाली काँग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ। हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन। १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ। त्यो भन्दाअघि देउवाबाहेक अरु सम्भव लाग्दैन। १५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने। एकदम सम्भावना छ। कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ।’
सांसद कोईरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताए।
प्रकाशित: ११ असार २०८० ११:४३ सोमबार