४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरा महानगरपालिका १३ औं नगरसभा: तीन तला माथिको भवनमा अग्नी नियन्त्रण प्रणाली अनिवार्य

पोखरा महानगरपालिकाले तीन तला भन्दा माथिका भवनमा अग्नी नियन्त्रण प्रणाली जडान गर्नुपर्ने उल्लेख गरेको छ।  

व्यवसायिक भवनहरुमा अग्नी नियन्त्रण प्रणाली जडान भएपनि तीन तला भन्दा माथिको जुनसुकै भवनमा अग्नी नियन्त्रण प्रणाली जडान गर्नुपर्ने उल्लेख छ।

‘तीन तला भन्दा माथिको भवनमा अनिवार्य रुपमा अग्नी नियन्त्रण प्रणाली जडान गर्नुपर्ने व्यवस्था गरिने छ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार महानगरको १३ औं नगरसभामा सम्बोधन गर्दै भने–‘भवनको मापदण्ड अनुसार नै अग्नी नियन्त्रण राख्न अनिवार्य गरिने छ।’

वर्षेनी भवनमा हुने आगजनीका घटनाले ठूलो भौतिक हुदैं आएको छ। गत वर्ष मात्रै पोखराको हल्लनचोकस्थित एक व्यवसायिक भवनमा आगजनी भएको थियो। त्यस्तै पोखरा महानगरकै व्यस्त बजार न्युरोड क्षेत्रकै एक व्यापारिकस्थलमा आगजनीको घटना भएको थियो।

आगजनीका घटना वर्षेनी हुने गरेकै कारण महानगरले आगजनीका घटना न्यूनिकरण गर्न व्यवसायिक तथा सर्वसाधारणको तीनतला माथिको भवनमा अनिवार्य अग्नी नियन्त्रण राख्ने व्यवस्था नीति तथा कार्यक्रममा समेटेको हो।  

‘सर्वसाधारणदेखि व्यवसायिक भवन(जुन तीनतला माथि माथिको)मा अनिवार्य रुपमा सुरक्षाको दृष्टिकोणले पनि अग्नी नियन्त्रण राख्नुपर्ने व्यवस्था गरेका हौैं’ पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले भने–‘भवनको मापदण्ड अनुसार अग्नी नियन्त्रण राख्नुपर्छ।’ उनका अनुसार भइरहेका भवनमा नयाँ बन्ने भवनमा अग्नी नियन्त्रण राख्नुपर्छ।  

पोखरा महानगरपालिकामा वर्षेनी  १ हजारदेखि १५ सम्म नयाँ घर निर्माण हुने गरेको छ। ‘नयाँ बन्ने घर(तीन तला माथिको)मा अग्नी नियन्त्रण अनिवार्य रुपमा राख्न लगाँउछौं।’ प्रवक्ता तिमिल्सिनाले भने–‘अग्नी नियन्त्रण नराखेको अवस्थामा नयाँ घरको सम्पन्न प्रमाणपत्र महानगरले दिदैन्।’ उनका अनुसार नयाँ घरको सम्पन्न प्रमाणपत्र लिनु अघि नै महानगरका कर्मचारी एवं प्राविधिकले अग्नी नियन्त्रण राखेको बारेमा अनुगमन गर्ने छन्। अनुगमन पछि मात्रै नयाँ घरको सम्पन्न प्रमाणपत्र पाउने उनको भनाइ थियो।

महानगरपालिकाभित्र तीन तला भन्दा माथिको झण्डै १० हजार घर रहेको तथ्यांक छ। ती घरहरुमा अग्नी नियन्त्रण राख्न सम्बन्धित घरधनीलाई सूचीत गरिने जनाएको छ। ‘महानगरले अग्नी नियन्त्रणको लागि अनुदान दिने व्यवस्था गरेको छैन’ उनले भने–‘भवनको तला हेरेर क्षमता अनुसारको अग्नी नियन्त्रण राख्नुपर्छ।’ उनको भनाइ अनुसार सुरक्षाको दृष्टिकोणले पनि बजार क्षेत्रमा अग्नी नियन्त्रण अनिवार्य भइसकेको छ।

पोखरा महानगरपालिकासँग दुईवटा दमकल छन्। एकैपटक आगजनीका घटना भएमा अग्नी नियन्त्रण गर्न कठिनाई छ। कतिपय अवस्थामा बजार क्षेत्रमा बोरिङको खानेपानी ओसारपोसार गर्ने ट्याङकरकै सहयोगमा अग्नी नियन्त्रण गर्नुपर्ने अवस्था छ। महानगर प्रमुख आचार्यले लेखनाथ क्षेत्रमा एक दमकल र एक एम्बुलेन्स व्यवस्था गर्ने समेत उदघोष गरे। लेखनाथ क्षेत्रलाई लक्षित दमकल भने छैन्। विपद व्यस्थापनमा खासगरी ध्यान कमै मात्रै जाने गरेको छ। घटना घटेर क्षति भईसकेपछि मात्रै सचेत बन्ने प्रवृत्ति छ।

प्रकाशित: १० असार २०८० १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App