३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोजगारी सिर्जनादेखि शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड

काठमाडौं महानगरको १२५ बुँदे कार्यक्रम, डेढ दर्जन नारा

काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचअघि सार्दै आर्थिक वर्ष २०८०-०८१को नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिका प्रमुख बालेन शाहले बुधबार नगरसभामा पेस गरेको नीति तथा कार्यक्रमले सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदीनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण मुख्य उद्देश्यमा राखिएको हो।  

कम्तीमा ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने, महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरुवात गर्ने उल्लेख गरिएको छ। स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्ने उल्लेख छ। काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य नीति तथा कार्यक्रमले राखेको छ। सुविधासम्पन्न बाल शिक्षा र विकासमा जोड दिँदै महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सुविधा सम्पन्न कक्षा, आवश्यक भौतिक पूर्वाधार विकास, बुक फ्रि फ्राइडे, सिपमूलक शिक्षा, मेरो विद्यालय म बनाउछुँ, विद्यालयको सुन्दरता तथा हराभरामा विद्यार्थीहरूको सहभागिताका साथै सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर कम्तीमा २५ प्रतिशतले वृद्धि गर्ने शैक्षिक लक्ष्य लिइएको छ।’

कम्तीमा ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने, महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरुवात गर्ने उल्लेख गरिएको छ।

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सिपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधार सहितको गरिखाने शिक्षा, महानगरको ईच्छा भन्ने नाराकासाथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने जनाएको छ। सामुदायिक विद्यालयहरूको सुन्दरता बढाउन विद्यार्थीहरूको सहभागितामा सम्पूर्ण विद्यालयहरूलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउने पनि जनाएको छ। त्यसका लागि विद्यार्थीहरूको संलग्नतामा क्लव गठन गरी बुक फ्रि फ्राइडे कार्यक्रमसँग यस परियोजनालाई आवद्ध गरी सञ्चालन गर्ने उल्लेख छ। ‘सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। ‘सामुदायिक विद्यालयका छात्राहरूका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेसिन एवं विद्यार्थीहरूका लागि लकरको व्यवस्था गरिनेछ,’ कार्यक्रममा उल्लेख छ।  

३२ वटै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र, १ वटा सुलभ फार्मेसी, १ वटा केन्द्रीय ल्याब सञ्चालनमा ल्याई महानगरवासीको स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा रूपान्तरण गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिएको छ। महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाप्रतिको जनविश्वास र सेवाग्राहीको संख्या सतप्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ। महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने जनाउँदै भनिएको छ, ‘निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइनेछ।’ वन स्टोप सर्भिस सेन्टर, सार्वजनिक यातायात तथा सवारी पार्किङ र महानगरको सेवाप्रवाह पूर्ण डिजिटल रूपमा सञ्चालनमा ल्याउने जनाउँदै भनिएको छ, ‘महानगरको सेवामा होम डेलिभरी, इरेन्टल, मेट्रोमार्ट सञ्चालनमा आउनेछ।’

महानगरपालिकाका सम्पूर्ण सडकलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रूपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौँ बनाउने उल्लेख छ। ‘उज्यालो सहर, मेरो महानगर योजनाको रूपमा सञ्चालन गरिनेछ,’भनिएको छ,‘यसका लागि महानगरको आफ्नै संयन्त्र वा जिटुजी र सामाजिक उत्तरदायित्वमार्फत उज्यालो सहरको कार्यक्रम सञ्चालन गरिनेछ।’  

महानगरका विभिन्न एक सय स्थानमा हाइ मास लाइट जडान गरिने उल्लेख छ। महानगरपालिका क्षेत्रभित्रका नदीनालाहरूको नियमित सरसफाई गर्न नदी सरसफाई सञ्चालन गर्ने उल्लेख छ। ‘यसका लागि आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनेछ साथै वागमती तथा विष्णुमति नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने प्रक्रिया सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।  

मानव अधिकार र सामाजिक न्यायको सिद्दान्तलाई अबलम्वन गर्दै न्याय सम्पादनलाई थप सरल, सहज, अनुमानयोग्य र पहुँचयोग्य बनाउन सूचना प्रविधिको प्रयोग गरिने पनि जनाएको छ। महानगरवासीहरूका लागि न्याय तथा कानुनी परामर्शका लागि स्वर्णिम योजनाका रूपमा न्याय चौतारी सञ्चालनमा ल्याइने उल्लेख छ।  

डिजिटल महानगर फ्रेमवर्क तयार गरी सुशासनका लागि अनलाइन सेवा गौरवका योजना मार्फत महानगरवाट प्रदान गरिने सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने जनाइएको छ।

प्रकाशित: ७ असार २०८० ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App