२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पहिचान माग्दा जातिवादीको आरोपमा जेल बस्नु पर्‍यो: रेशम चौधरी

गाईघाटमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै रेशमलाल चौधरी। तस्विरः महेश्वर

चर्चित टीकापुर काण्डको अभियोगमा ५ वर्ष जेल जीवन बिताएर भर्खरै निस्केका रेशमलाल चौधरीले पहिचानको मुद्दा उठाउँदा जातिवादीको झुटा मुद्दा लगाएर आफूलाई जेल कोचेको दुःखेसो गरेका छन्।

बुधबार सदरमुकाम गाईघाटमा नागरिक उन्मुक्ति पार्टीद्वारा आयोजित ‘स्वागत तथा भेटघाट कार्यक्रम’ लाई सम्बोधन गर्दै चौधरीले आफू संलग्न हुँदै नभएको टीकापुर घट्नामा तत्कालीन राज्यसत्ताले जबरजस्ती अपराधी करार गरेर जेल हालेको गुनासो गरे।

गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी जेलमुक्त भएका थिए।

जेलबाट बाहिरिएयता देश दौडाहाको क्रममा रहेका उनी बुधबार उदयपुर आइपुगेका हुन्। नागरिक उन्मुक्ति पार्टीको संरक्षकसमेत रहेका चौधरीले आफुलाईजस्तै पहिचानको मुद्दा उठाउँदा आदिवासी जनजाति समुदायलाई जातिवादीको आरोप लगाएर जेल हाल्ने गरेको बताए।

अन्य थारू र जनजातिहरु पनि पहिचानको कुरा उठाए भने सोझै जातिवादीको आरोप लगाएर राज्यसत्ताले दुःख दिदै आएको भनाई उनको थियो।

‘हामी थारुहरु, हामी राई लिम्बु, दनुवार, मगर, तामाङ, गुरुङ, कोचेमेचे, धिमाल, कुमालले पहिचानको कुरा उठायो कि जातिवादीको बिल्ला भिराईहाल्छन्’ चौधरीको गुनासो थियो ‘अनि विना कारण प्रहरीको कठघरा, जेलको चिसो छिँडी र काल कोठरीमा थुनिनु पर्दो रहेछ।’

टीकापुर घटना थारुले घटाएको भन्ने गलत आरोप लगाएर राज्यले विभेदपूर्ण रुपमा आफूलाई फसाउने काम गरेको भन्दै उनले आफू कहिल्यै जातीय विभेदको पक्षमा नरहेको र अव पनि नरहने उद्घोष गरे।

अन्यायपूर्ण रुपमा पक्राउ परी जेलमा कोचिन पुगेपछि विद्रोह स्वरूप जेलभित्रै बसेर विभिन्न राष्ट्रिय गीतहरू, कविता र पुस्तक लेखेको स्मरण गराए। राज्यसँग दया होइन, न्याय मागेको भन्दै उनले जेलभित्रै १७ वटा पुस्तक लेखेकोमा ७ वटा प्रकाशित भइसकेको र बाँकी छाप्ने क्रममा रहेको बताए।

उनले आफू कुशल कलाकार पनि भएको भन्दै तर, राज्यले एउटा कलाकारमाथि गम्भीर विभेद गर्दै जेल बस्न बाध्य पारेपछि मुक्ति यात्राका लागि जेलभित्रबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेर देशमा पहिचानवादी र पिछडिएका जनताको पक्षमा राजनीति गर्न थालेको बताए।

आफ्नो बाँकी जीवन थारु समुदाय र आदिवासी जनजाति तथा पहिचानवादीहरुको पक्षमा समर्पण गरेको बताउँदै चौधरीले थारु समुदाय संस्कार संस्कृति, भाषा, भेषभुषा पढ्न र लेख्न नसक्दा राज्यबाट प्राप्त शैक्षिक अधिकारको उपभोग गर्नबाट समेत वञ्चित हुनुपरेको बताए। 

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले पनि भूमि पुत्र थारु र आदिवासी जनजातिको हक अधिकार सुनिश्चित नगरेको उनको भनाई थियो। लामो सङ्घर्षपछि प्राप्त भएको संविधानमा पनि भूमि पुत्र र आदिवासीको अधिकार सुरक्षित नभएकाले अब सङ्घर्ष नै विकल्प रहेको उनले बताए।

विना कारण जेल बस्न परे पनि उनले आफूलाई कहिल्यै कमजोर नठान्न चेतावनी दिदै चौधरीले आगामी दिनमा पहिचानको पक्षमा लाग्दै देशभरका उत्पीडित, शोषित, पीडित र उपेशित दलित‚ मधेसी‚ मुस्लिम र पिछाडीएका वर्गको पक्षमा लडिरहने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको अन्त्यमा चौधरीलाई नाउपा उदयपुरका सभापति बद्रीनारायण चौधरीले मायाको चिनो प्रदान गर्दै बिदा गरेका थिए।

प्रकाशित: ६ असार २०८० १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App