७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः खनाल

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गरेका छन्।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गरेका हुन्।

उनले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताए। उनले यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको बताए। आज बनेको मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको उनको भनाइ छ।

उनले भने, ‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ। मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो। यो पहिलो पाइला मात्रै हो। सिंगो देशका समस्त देशभक्तहरुलाई, समस्त वामपन्थीहरुलाई, समस्त समाजवादीहरुलाई, समस्त क्रान्तिकारीहरुलाई हामीले एकतावद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन। त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ। अझ बिस्तार गर्नुपर्ने आवश्यकता छ। म चारै दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस्। यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस्। यो मोर्चा सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्ने मोर्चा बनोस्। यसरी मात्रै हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौँ। देशको भविष्यलाई उज्यालो बनाउने भनेको समाजवादी लोकतन्त्र समाजवादी गणतन्त्रमा पुगेर मात्रै हो। हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो। समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको जुन शोषण, दमन, अन्याय, अत्याचार समाप्त हुँदैनन्। यसकारण यिनलाई समाप्त गर्ने हो भने एकमात्र विकल्प समाजवाद हो।’  

प्रकाशित: ४ असार २०८० १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App