२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोडः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका हुन्।

उनले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए। उनले देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको बताए।

नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उहाँले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गरे। महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताए। उनले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताए।

उनले भने, ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन। कुनैपनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनैपनि स्थितिमा स्वीकार गर्न सकिँदैन। नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडी ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल। यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो यो। यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ र यसरी प्रयोग भएको छैन। सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा भएका, संघर्ष गरिरहेका पार्टीहरु पनि यहाँ पनि छौँ। यो एउटा संयोग हो। नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ। ७ बुँदे घोषणापत्र लिएर तपाईहरुको बीचमा उपस्थित भएका छौँ। पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो। यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो। देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकहरुले गर्ने हो। हामी सक्छौँ। तपाईहरुको विश्वासबाट। तपाईहरुको उत्साहबाट हामी साँच्चै नै तरंगित पनि छौँ। जिम्मेवारीबोध पनि भइरहेको छ।’  

प्रकाशित: ४ असार २०८० ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App