१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल मेलम्चीमा

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्।

प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतले स्वागत गरेका थिए।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन्। उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन्।

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग पनि अन्तक्रिया गर्ने कार्यक्रम छ। २०७८ साल असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रूपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पु¥याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाविस अन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ।

२०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो। २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।  

प्रकाशित: २ असार २०८० ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App