२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

आज संसदीय समितिका १२ सभापति चयन हुँदै, यस्तो छ मनोनयन सूची

संघीय संसद्का १२ विषयगत समितिको सभापति चयन आज हुने भएको छ। प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति रहेका छन्।

बिहीबार प्रतिनिधिसभाका १० र २ संयुक्त समितिको सभापतिमा मनोनयन दर्ता भएको थियो। सचिवालयका सचिव हर्कराज राईका अनुसार आज बस्ने सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचन गर्ने कार्यसूची छ।

समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (आज) अपराह्न १:०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ। त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतबहादुर खड्काको मनोनयन परेको छ।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ।

संघीय संसद्को संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ। यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाह (गरिमा) को मनोनयन दर्ता भएको छ। 

प्रकाशित: ४ वैशाख २०८३ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App