८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ४ : आकांक्षीको दौडधुपले राजनीतिक सरगर्मी

स्थानीय तह निर्वाचनमा नगरपालिकाहरूमा मेयरका  आकांक्षीको दौडधूपसँगै राजनीतिक सरगर्मी पनि बढेको छ। युवा र पाका दुवै पुस्ताले नगरपालिकाको नेतृत्व लिने आकांक्षा देखाइरहेका छन्। 

गाउँपालिकाभन्दा पनि नगरपालिकामा मेयरको उम्मेदवारी हात पार्ने होड पार्टीभित्रै तीव्र भएको छ।

चुनाव मिति  नजिकिँदै आउँदा धौलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका नगरपालिकामा उम्मेदवारको चर्चा पनि  बढेको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू आआफ्नो पक्षमा उम्मेदवारी मिलाउन केन्द्रीय नेताको घरदैलो धाउन थालेका छन्। गाउँपालिकाभन्दा पनि नगरपालिकामा मेयरको उम्मेदवारी हात पार्ने होड पार्टीभित्रै तीव्र भएको छ।

बेनी नगरपालिका

बेनी नगरपालिकामा मेयरको उम्मेदवार बन्न सबैजसो दलभित्र युवाले चाहना देखाएका छन्। म्याग्दीको एकमात्र बेनी नगरपालिकामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र आबद्ध युवाले पार्टीको आन्तरिक छलफल तथा सामाजिक सञ्जालमार्फत मेयरमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। 

 कांग्रेसका हरिकुमार श्रेष्ठ, अनोद श्रेष्ठ, लीलाबहादुर बानियाँ, रमेशकुमार श्रेष्ठ मेयरमा आकांक्षी देखिएका छन्। एमालेका हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, सन्तोष रावल, राजकुमार थापा, सुरत केसी र कृष्णकुमार विश्वकर्माले दाबी प्रस्तुत गरिरहेका छन्। माओवादी केन्द्रबाट शेरबहादुर केसी आकांक्षी देखिएका छन्। कुनै पनि दलले उम्मेदवारको टुंगो नलगाए पनि नगरपालिकाका वडामा चुनावी कार्यक्रमसहित आफ्नो पक्षमा वातावरण बनाउन आकांक्षी लागिपरेका छन्।

बाग्लुङ जिल्लामा पनि स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षी बढ्दै गएका छन्। बाग्लुङमा चार नगरपालिका छन्। ती नगरपालिकामा मेयर र उपमेयरका आकांक्षीबीच पार्टीभित्रै होडबाजी चलेको छ। स्थानीय तहमा उम्मेदवारी दाबी गर्नेहरूले प्रमुख पद नै ताक्ने गरेका छन्। स्थानीय तहमा नेतृत्वका लागि टिकट आफ्नो पोल्टामा पार्न स्थानीय नेता जिल्लादेखि केन्द्रसम्म दौडधुप गरिरहेका छन्।

बाग्लुङ नगरपालिका

कांग्रेसका दीपेन्द्र थापा, जगदीशचन्› उपाध्याय, किरण पौडेल, वसन्तकुमार श्रेष्ठ, शकुन्तला शर्मा, चिरञ्जीवी गौतम, नारायण पौडेल, महेन्द्र आचार्य र पार्वती आचार्य मेयरका लागि आकांक्षी देखिएका छन्। एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेलको सम्भावना देखिएकाले बलियो उम्मेदवार छान्नुपर्ने दबाब कांग्रेसलाई छ। एमालेबाट जनक केसी, मनकुमारी केसी, ममतादेवी शर्मा, कृष्ण पाठकको नाम चर्चामा छ। माओवादी केन्द्रबाट निर्मल श्रेष्ठ, यज्ञवल्लभ शर्मा, कुमारविक्रम क्षेत्री आकांक्षी छन्। राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटा, थानेश्वर सुवेदी र राप्रपाका सुरेन्द्र खड्काको नाम चर्चामा छ।

जैमुनी नगरपालिका

यस नगरपालिकाको मेयरमा कांग्रेसबाट नवराज पौडेल, हरिहर शर्मा, भीम श्रीस, इन्द्रराज पौडेल, हरि आचार्य, दुर्गादत्त आचार्य, गीता रेग्मी, काशीराम आचार्यलगायतले दाबी प्रस्तुत गरेका छन्। एमालेका श्रीप्रसाद शर्मा, भूपाल चालिसे र साबित्रा रानाले मेयरमा चाहना देखाएका छन्। माओवादी केन्द्रका लालबहादुर परियार, सकसबहादुर क्षेत्री, शोभा शर्मा चर्चामा छन्। राष्ट्रिय जनमोर्चाबाट नरबहादुर पुन आकांक्षी देखिएका छन्।

गल्कोट नगरपालिका

मेयर पदमा कांग्रेसका मञ्जु शर्मा चालिसे, फमबहादुर खत्री, मञ्जेश बम मल्ल, देवेन्द्र खत्री, मुकुन्द भण्डारी आकांक्षी देखिएका छन्। एमालेका कुलबहादुर केसी, डम्बर श्रीस र माओवादी केन्द्रका फमलाल निउरे, ज्ञामनाथ गैरे, तिलक उप्रेती, राजबहादुर थापा आकांक्षी छन्। राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी चर्चामा छन्।

ढोरपाटन नगरपालिका

कांग्रेसबाट मेखलाल शर्मा, धीरप्रताप सिंह, अर्जुन शेरचन मेयरका आकांक्षी छन। एमालेका लक्ष्मण पुन, गोकुल शेरचन, टंक पौडेलको चर्चा छ। त्यस्तै  माओवादी केन्द्रबाट चन्द्र अर्याल, शेरमान घर्ती, तुलसी अर्याल र राष्ट्रिय जनमोर्चाबाट टेकबहादुर घर्ती र गौरीश्वर पाण्डेयको चर्चा छ। नगरपालिकामा वैशाख ७ गतेभित्र उम्मेदवारको टुंगो लगाउनेे कांग्रेस बाग्लुङका सचिव नवराज पौडेलले बताए। अन्य राजनीति दलसँग चुनावी तालमेल गर्नेबारे पनि छलफल भइरहेको उनले बताए।

एमालेले बाम तालमेलमा जोड दिँदै अगुवाइ गर्ने योजना बनाएको छ। ‘कांग्रेस मुख्य प्रतिद्वन्द्वी भएकाले अन्य दलसँग तालमेल गर्ने तयारीमा छौं,’ एमाले जिल्ला सचिव लालबहादुर थापाले भने। माओवादी केन्द्रले भने जिल्लाभर सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ। जिल्ला कमिटी बैठकले सबै पदमा पार्टीबाटै उम्मेदवार उठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख कृष्ण केसीले बताए।

पर्वतमा पनि दलहरूभित्रकै आकांक्षीबीच उम्मेदवार बन्न प्रतिस्पर्धा तीव्र बनेको छ। गाउँभन्दा नगरमा आकांक्षी बढी देखिँदा प्रमुख दललाई उम्मेदवार तय गर्न सहज नभएको नेताहरूले बताएका छन्। पर्वतमा दुई नगरपालिका छन्। ती नगरपालिकामा मेयर र उपमेयरका लागि टिकट पाउन पार्टीभित्रैका आकांक्षीबीच प्रतिस्पर्धा छ।

कुश्मा नगरपालिका

मेयर पदका लागि कांग्रेसका गंगाधर पौडेल, वसन्तबहादुर सिके, रामचन्द्र जोशी, युवराज जोशी, विद्वान गुरुङ र चूडामणि शर्मा आकांक्षी छन्। एमालेका गणेश पौडेल, गोविन्द पहाडी, शान्त पौडेल, मेघनाथ सुवेदी र मनोहर बी पौडेल आकांक्षी देखिएका छन्। माओवादी केन्द्रबाट ढाकाराम गौतम, मनरुपा सुवेदी, शंकर गिरी आकांक्षी छन्। राप्रपामा प्रकाश पौडेल, इश्वर गिरी, मानकुमारी गिरीको नाम चर्चा छ। आकांक्षी बढ्दा सिफारिस गर्न कठिन भएको एमाले कुश्मा नगर अध्यक्ष रुद्र गिरीले बताए।

फलेबास नगरपालिका

कांग्रेसका युक्तप्रसाद श्रेष्ठ, गंगाधर तिवारी, राधा कुँवर, गंगाराज शर्मा, रेखा गुरुङ र थमनसिंह थापा मेयरमा आकांक्षी देखिएका छन्। एमालेका पदमपाणि शर्मा, रामेश्वर गौतम, पूर्ण गौतम, मञ्जु अधिकारीबीच दौडधूप तीव्र बनेको छ। माओवादी केन्द्रका प्रेम राना, कमल भुसाल, शोभा क्षेत्रीको नाम चर्चामा छ। राप्रपाबाट ठाकुर भुसालको चर्चा छ।

 त्यस्तै चार नम्बर प्रदेशमा पर्ने नवलपरासी जिल्लाको नवलपुर खण्डका चार नगरपालिकामा आफ्नो जित सुनिश्चित गर्ने रणनीतिमा मुख्य दल कांग्रेस, एमाले  र माओवादी केन्द्र लागेका छन्। आन्तरिक संगठन निर्माण र उम्मेदवार पहिचानमा  यी दल व्यस्त छन्।

नवलपुर खण्डमा गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका  छन्। गैंडाकोट, देवचुली र कावासोती पछिल्लो समय तीव्र सहरीकरण भएका नगरपालिका हुन्। यहाँ नवलपुरकै पहाडी खण्ड र पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ जस्ता जिल्लाबाट बसाइँसराइ गरेर आउने बढी छन्।

गैंडाकोट नगरपालिका

गैंडाकोटमा कांग्रेसका ओम सापकोटा, मदनभक्त अधिकारी, गजेन्द्र आलेलगायतको नाम मेयर पदका लागि आकांक्षी छन्। एमालेका छत्र पौडेल र यमुनाथ आचार्यको नाम मेयर पदका लागि अगाडि आएको छ।  माओवादी केन्द्रका तारा कुँवर, दुर्गा ढुंगानालगायतले इच्छा प्रकट गरेका छन्।

देवचुली नगरपालिका

 देवचुलीमा कांग्रेसका हेमराज कोइराला, पूर्णकुमार श्रेष्ठ, एमालेका कमल बाचेमगर, हेमन्त श्रेष्ठ, खिमानन्द भुसाल र माओवादी केन्द्रका सूर्य न्यौपाने, सत्यनारायण भुसाललगायतको नाम मेयर पदका लागि चर्चामा छ।

कावासोती नगरपालिका

कावासोती ठूलो बजार क्षेत्र भएकाले मेयरका आकांक्षीमा धेरको नाम आएको छ। कांग्रेसका झपिन्द्र भुसाल, सरस्वती तिमिल्सिना, बालकृष्ण घिमिरे, महेन्द्र पोखरेल, एकनारायण अधिकारीलगायतले उम्मेदवार हुने चाहना देखाएका छन्। एमालेका दुर्गा भण्डारी, चन्द्र पुन, होमनाथ सुवेदी र माओवादी केन्द्रका चेतनाथ पोखरेल, गुरुदत्त अधिकारीलगायतको नाम अगाडि आएको छ।

मध्यविन्दु नगरपालिका

मध्यविन्दु नगरपालिकामा मेयरका लागि कांग्रेसका चन्द्रबहादुर राना र उदयराज अर्यालको नाम चर्चामा छ। एमालेले भीमलाल अधिकारीलाई वा दानबहादुर रायमाझीमध्ये एकलाई मेयर पदको उम्मेदवार बनाउने योजना बनाएको छ। माओवादी केन्द्रबाट हरि पाण्डे वा केदार पराजुली मेयर पदका लागि उठ्ने सम्भावना छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यविन्दु नगरपालिकामा अन्य पार्टीसँग्ा तालमेल गरेर उम्मेदवार उठाउने तयारी गरिरहेको छ।

 

सन्तोष  पोखरेल/पोखरा, हरिकृष्ण गौतम/म्याग्दी, संगम घर्तीमगर/बागलुङ, छविलाल तिवारी/पर्वत र रमेशकुमार पौडेल/चितवन को सहयोगमा

प्रकाशित: २७ चैत्र २०७३ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App