सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम बुधवार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका छन्।
यस वर्षको नीति तथा कार्यक्रममा पनि विगतका वर्षका नीति कार्यक्रममा जस्तै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
यसै गरी जलश्रोत, पूर्वाधार विकास, खानेपानीको कार्यक्रम, युवाहरूलाई रोजगारीमूलक कार्यक्रम, खेलकुद, सामाजिक न्याय, समानता, विभेद र कुप्रथा अन्त्य गर्ने लगायतका कुरा नीति तथा कार्यक्रममा उल्लेख छन्।
यसै गरी नीति तथा कार्यक्रममा महत्त्वाकाङ्क्षी योजना सुदूरपश्चिमका तीन नदिमा जल यातायात संचालन गर्न र सुदूरपश्चिममा मनोरेल सेवा संचालन गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ।
गोदावरी अत्तरिया धनगढी चौराह सडक खण्डमा मनोरेल सेवाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक निजी साँझेदारीमा अगाढी बढाइने भनिएको छ। महाकाली, कर्णाली र सेती नदीमा रिभर बिच पार्क तथा जल यातायात संचालनको लागी सम्भाव्यता अध्ययन गरी सार्वजनिक निजी साँझदारीमा कार्यक्रम संचालन गरिने उल्लेख छ। प्रदेश सरकारले सुरुकै वर्षमा सार्वजनिक यातायात संचालन गर्ने भनेर ल्याइएको कार्यक्रम कार्यान्वयन नभएकाले यस वर्षको नीति तथा कार्यक्रममा जल यातायात देखि मनोरेल सम्म संचालन गर्ने कुरा उल्लेख हुँदा सर्वसाधारणले भने पत्याएका छैनन्।
‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’ संचालन गरी अगामी पाँच वर्षभित्र दलहन, मसलावाली र फलफूलमा आत्मनिर्भर हुने नीति लिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसै गरी खाद्यान्न, आलु, तरकारी, दूध, मासु र अण्डामा आत्मनिर्भर हुने विशेष कार्यक्रम संचालन गरिने उल्लेख छ। स्थानीय तह, निजी र सहकारी क्षेत्रको साँझदारीमा खाद्यान्न भण्डारण स्थापना गर्ने भनिएको छ।
स्थानीय कच्चा पदार्थ र श्रोतको प्रयोग हुने गरी एक जिल्ला एक उद्योग कार्यक्रम संचालन गरिने उल्लेख छ। बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेलधुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति स्थानीय तह सँग समन्वय र साझेदारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। लागु औषध प्रयोगकर्ताका लागी प्रदेश स्तरीय पुनर्स्थापना केन्द्र स्थापना गरिने प्रदेश प्रमुख जोशीले बताए।
महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने लगायतका रोगको पहिचानका लागी स्क्रिनिङ्ग क्याम्प संचालन गर्ने, सिकलसेल एनिमिया, थालसेमिया, हेमोफिलिया लगायतका रोगको स्क्रिनिङ्गको दायरा बढाई प्रदेश भित्र नै उपचारको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
संघ सरकार, स्थानीय तह र निजी क्षेत्र सघ सहकार्य गरेर पर्यटन प्रवर्धन गर्न होटल, लज हिल स्टेसन, डाउनहिल साईड साईकल रुट, स्काई साईकिल, बन्जी जम्प, होमस्टे, जिपलाईन, प्याराग्लाइडिङ, र्याफ्टिङ र रक क्लाईम्विङ्ग लगायतका पर्यटन पूर्वाधार बनाइने नीति तथा कार्यक्रममा प्रदेश प्रमुख जोशीले वाचन गरेका छन्।
हिमाली तथा पहाडी जिल्लाबाट हुने बसाइँ सराइलाई न्यूनीकरण गर्न शहरोन्मुख गाउँको गुरुयोजना तयार गरी कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम दोहोरिने गरेका छन् भने नीति तथा कार्यक्रममा प्रस्तुत भएका अधिकांश कार्यक्रम अहिले सम्म कार्यान्वयन नभएकाले स्थानीयमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा उत्साह देखिएको छैन।
प्रकाशित: २४ जेष्ठ २०८० १४:४९ बुधबार




-600x400.jpg)
