१५ चैत्र २०८० बिहीबार
राजनीति

जानकी माता र पशुपतिनाथले प्रदेशको रक्षा गरुन् : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई जल उत्पन्न प्रकोपबाट जानकी माता र भगवान पशुपतिनाथले बचाऊन् भन्ने कामना गरेका छन् ।

प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यास कार्यक्रमलाई बुधवार रौतहटको नुनथरमा अवलोकन गर्र्दै मुख्यमन्त्री यादवले विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउँदै प्रदेशमा कुनै विपद् नआऊन् भन्ने कामना गरेका छन्।

मधेश प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको रुपमा रहेका मुख्यमन्त्री यादवले गृहमन्त्रीलाई विपद् व्यवस्थापनको लागि सबै किसिमको आवश्यक सामग्री किन्न निर्देशन दिइसकेको बताएका छन्।वर्षाअगाडि नै सबै सामग्री उद्धार समितिलाई हस्तान्तरण गर्न निर्देशन दिइसकिएको बताउँदै मुख्यमन्त्री यादवले उद्धार तालिम अभ्यासका सामग्रीहरु खरिदको लागि आफूले निर्देशन दिएको बताएका छन्।

मुख्यमन्त्री यादवले विपद्मा सहयोग गर्ने काम निकै महत्वपूर्ण भएको बताउँदै मधेश प्रदेशका कोशी, कमला, बागमती र बकैया नदीमा बाढीको समयमा बढी समस्या आउने बताएका छन् । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा गर्मीमा अत्यधिक गर्मीले, जाडोमा अत्यधिक जाडोले तथा वर्षामा सबैभन्दा बढी बाढीले विपद् निम्त्याउने गरेको पनि स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री यादवले संक्षिप्त मन्तव्य दिँदै उद्धार तथा राहत कार्यमा खट्ने सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बाढीजन्य विपद् कसरी आइपर्छ र विपद्मा सुरक्षा टोलीले कसरी उद्धार गर्छ भनेर विभिन्न किसिमका प्रदर्शन गरेका छन् । बाढीजन्य विपद्बाट जोगिन पनि संयुक्त उद्धार अभ्यास प्रभावकारी भएको देखिएको छ ।

प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यास उद्धार कार्यक्रममा मुख्यमन्त्री यादव बागमती नदीमा ढुंगा चढेर उद्धार टोलीको मनोबल बढाएका छन् । विभिन्न किसिमको उद्धार अभ्यासलाई मुख्यमन्त्री यादवले हेर्दै उद्धारको तयारीबारे जानकारी लिएका छन् ।

समितिले विपद् उद्धार सामग्रीहरुको प्रदर्शनी पनि गरेको छ। प्रदर्शनीको मुख्यमन्त्री यादवसहितको टोलीले स्थलगत अवलोकन पनि गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी दीपेन्द्र शाह, नेपाल प्रहरी मधेश प्रदेश कार्यालय जनकपुरका प्रमुख डिआइजी जनक भट्टराई, मधेश प्रदेशका आठओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा आठओटै जिल्लाका सुरक्षा निकायको उपस्थिति रहेको थियो।  

प्रकाशित: २४ जेष्ठ २०८० १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App