coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले जनताको हीतलाई प्राथमिकतामा राख्न सकेनः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हीतलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन्।

बुधवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तिब्र गतिमा विभाजित गरी कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हीतमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए।

उनले कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरण प्राथमिकतामा पर्नुपर्ने बताए। बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको उनको भनाइ छ। उनले बजेटबाट सरकारले राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न नसकेको बताए।

उनले भने, ‘कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरण आजको प्राथमिकतामा पर्नुपर्छ। त्यसको लागि ठूलो मात्रामा विद्युतीय उर्जाको आवश्यकता पर्छ। हामीसँग कृषि उत्पादनको क्षेत्र करिव २६ लाख हेक्टर रहेको छ। यदी यसलाई प्राथमिकतामा राखेर अघि बढाउन हो भने प्रतिवर्ष काम गर्ने उमेर भएका १० लाख युवाहरुले रोजगारी प्राप्त गर्नेछन्। यो क्षेत्रलाई हरेक वर्ष पहिलो प्राथमिकतामा राख्नुपर्छ। यसलाई ५ वर्ष नै प्राथमिकतामा राख्दा विदेशमा रहेका सबै नेपालीहरुलाई स्वदेशमा नै रोजगारी प्राप्त गर्नेछन्। तर बजेटले न कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न सकेको छ, न राष्ट्रिय बजारको संरक्षण गर्न सकेको छ। न अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न सकेको छ। अहिलेसम्मको चलनचल्तीमा नै बजेट रुमल्लिएको छ। कृषि उत्पादनको क्षेत्रमा आमुल परिवर्तन गर्नेतर्फ दृष्टि पुग्न सकेको छैन। कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरणको महत्व वर्तमान सरकारले बुझ्न सकिएको देखिएन। अहिले यो बजेटमा ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई अरु तिब्र गतिमा विभाजित गरी ज्यानमारा किसान कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गरिएको छ। यसले के देखिन्छ भने वर्तमान सरकार आकाश—पातालको कुरा धेरै गर्छ, कुरा जे पनि गर्छ, जनताको हीत हुनेकुरा प्राथमिकतामा राख्न सकेको छैन।’  

प्रकाशित: २४ जेष्ठ २०८० ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App