१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुरुङभित्रका सपना

उपेन्द्र लामिछाने/हिमाल लम्साल

अम्बाथान (सिन्धुपाल्चोक)- मेलम्ची सपना साकार हुँदैछ। सिन्धुपाल्चोकको अम्बाथानस्थित सुरुङको मुखबाट मेलम्ची खोलाको कञ्चन पानी राजधानीको सुन्दरीजलमा खसाल्ने महŒवाकांक्षी योजना पूरा हुने सँघारमा छ। २७.६ किलोमिटरमध्ये अब चार किलोमिटरमात्र सुरुङ खन्न बाँकी छ। राजधानीवासीको लामो समयदेखिको मेलम्ची सपनामा सुरुङभित्र काम गर्ने मजदुरका पनि अनगिन्ती सपना मिसिएका छन्।

रुकुमका जगतमान मगर, बाग्लुङका श्रीप्रसाद रसाइली, नुवाकोटमा रमेश भुजेल, नवलपरासीका मनबहादुर विकलगायत विभिन्न जिल्लाबाट काममा आएका मजदुरको पसिना सुरुङमा चुहिएको छ। उनीहरूलाई मेलम्चीको पानी पिउनु छैन। तर, सुरुङभित्र निस्सासिँदै काम गरेका मजदुरका यही पानीसँग जोडिएका आआफ्नै सपना छन्। यसैको कमाइबाट भूकम्पले भत्केको घर फेरि ठड्याउने सपना छ कसैको। अरबको मरुभूमिमा काम गर्न छाडी स्वदेश फर्केकालाई यसैको कमाइले सन्ततिको शिक्षादीक्षामा सहयोग पुर्‍याउने चाहना छ। कोहीलाई राष्ट्रिय गौरवको आयोजनामा काम गरेकोमा गर्वको अनूभूति छ त कसैलाई देशभरबाट आएर राजधानीमा जम्मा भएका सर्वसाधारणलाई पानी खुवाउने पुण्यकार्यमा सहभागी हुन पाएकोमा खुसी छ। केही सपना अनि केही खुसीका लागि उनीहरू जोखिम मोलेर दिनरात नभनी सुरुङ खन्दैछन्।

दशकौंदेखिको काकाकुल राजधानीको तिर्खा मेटाउन विभिन्न जिल्लाबाट आएका थुप्रै मजदुरको पसिना मेलम्ची आयोजनाको सुरुङमा चुहिएको छ। उनीहरूलाई मेलम्चीको पानी पिउनु छैन। तर, सुरुङभित्र निस्सासिँदै काम गरेका मजदुरका यही पानीसँग जोडिएका आआफ्नै सपना छन्।

यिनैमध्येका हुन् बाग्लुङका ४२ वर्षीय सनबहादुर सिल्पाली। २०७२ वैशाख १२ गते मध्यदिनमा भूकम्म आउँदा उनी मेलम्चीको सुरुङभित्र 'बुमर' चलाउँदै थिए। सिन्धुपाल्चोकको ग्याल्थोङ सेक्टरमा रहेर अम्बाथानस्थित मुहानतर्फ फर्केर सुरुङ खन्दै गर्दा उनले भूकम्पको सामना गरे। 'सुरुमा त बुमरको आवाजले जमिन थर्केजस्तो लाग्यो,' भूकम्पको दिन सम्झँदै उनले भने, 'जब स्टार्ट बन्द गरेर हेरें, जमिन थर्किरहेकै थियो।' सुरुङको मुखबाट एक किलोमिटरभित्र रहेको समयमा भूकम्पको धक्का महसुस गरेका उनले एक क्षण त जीवनप्रतिको आशा मारेका रहेछन्। सँगैका साथीलाई अँगालो हालेर उनले घरमा रहेका बुढा बा, कलिला सन्तान र श्रीमतीलाई एकैचोटि सम्भि्कए।

'सुरुङबाट बाहिर ननिस्किएसम्म बाँचौंला जस्तो लागेकै थिएन,' उनले भने, 'बाहिर निस्किएपछि भने बाँचेको अनुभूति भयो।' त्यसपछि उनलाई सुरुङ सम्भि्कँदा पनि डर लाग्यो। उनले त्यति बेला सुरुङभित्र कहिल्यै नछिर्ने सोच बनाए।

भूकम्पको कम्पन थामिँदै गयो, मनको डर हराउँदै गयो। फेरि सुरुङ खन्ने काम सुरु भयो। उनी पनि काममा फर्किए। 'सुरुङभित्रको डर भन्दा बेरोजगार भएर बस्दाको जिन्दगी अत्यासलाग्दो हुँदोरहेछ,' उनले भने, 'त्यही भएर फेरि यही काममा फर्किएँ।' १७ वर्षको उमेरदेखि भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका सिल्पालीसँग श्रीलंका र भारतमा केही वर्ष सुरुङभित्र काम गरेको अनुभव पनि रहेछ। उनी जोखिम भए पनि विदेशमा भन्दा स्वदेशमा काम गर्दा खुसी मिल्ने सुनाउँछन्। 'तीन वर्ष श्रीलंकाको जलविद्युत् आयोजनामा काम गरें तर यहाँ केही सजिलो महसुस भएको छ,' उनले भने।

मेलम्चीमा 'ड्रिल एन्ड ब्लास्ट' तरिकामार्फत सुरुङ खन्ने काम भइरहेको छ। बुमरले प्वाल पारेको ठाउँमा विस्फोटक पदार्थ तयार गर्छन् बाग्लुङकै श्रीप्रसाद रसाइली र उनका सहकर्मी। दुई वर्षअगाडि मेलम्ची आयोजनामा काम गर्न आएका ४८ वर्षीय रसाइलीले यसअघि ११ वर्ष कतारमा काम गरेका थिए। परिवारको गुजाराका लागि खाडी गएका उनी मुलुकमा काम भएकाले नै फर्केको सुनाउँछन्। 'जोखिम उता पनि थियो, यता पनि छ,' उनले भने, 'तर स्वदेशमा काम गर्न पाउँदाको खुसी बेग्लै हुन्छ।' यहाँ परिवारको सपनासँगै सहरबासीको सपना पनि पूरा हुने उनले सुनाए। 'सहरको मात्र हैन, यहाँ काम गर्दा हाम्रा अनगिन्ती सपना पनि पूरा हुनेछन्,' उनले भने, 'जोखिम न्यूनीकरण गरिदिए हामीलाई अझै ढुक्क हुन्थ्यो।' सुरुङ लामो हुँदै जाँदा भित्र अक्सिजनको मात्रा कम भएर काम गर्न सकस हुने उनले सुनाए।

आयोजनाअन्तर्गत सुरक्षा हेर्ने अधिकृत अर्जुनप्रसाद कोइराला सुरक्षामा विशेष ध्यान दिएको सुनाउँछन्। 'बारुद विस्फोट गराएका बेला केही समय अक्सिजन कम हुने गरेको छ,' उनले भने, 'त्यसपछि भने सामान्य अवस्थामा फर्कन्छ।'

बारुद पड्काउने काममा अनुभवीको रुपमा खटिएका छन् साँगाचोक चौताराका ५८ वर्षीय शिवराम गिरी। २०३६ सालमा कुलेखानी आयोजनामा काम गरिसकेका उनी मेलम्चीको पानी काठमाडौं पुर्‍याउने योजनामा उस्तै सक्रियताका साथ खटिएका छन्। 'बारुद चलाउँदा पोल्ने डर हुन्छ,' उनी भन्छन्, 'मेलम्चीको पानी लाखौंले खाने विश्वासले मन शान्त हुन्छ।'

बारुद पड्काएर भत्काएइएको ढुंगामाटो बाहिर ल्याउने कामलाई मकिङ भनिन्छ। सवारी चालकले ढुंगामाटो ओसार्ने गर्छन्। सवारीचालक जीवन दोङ आफ्नो काम पनि खतरायुक्त रहेको बताउँछन्। 'बम पड्केपछि निस्केको ग्यास सकिन नपाउँदै हामीले ढुंगामाटो ओसार्नुपर्छ,' उनी भन्छन्, 'भित्र गएर बाहिर निस्कँदा अनुहार नै कालो हुन्छ।'

त्यसपछिको अर्को महŒवपूर्ण चरण हो सुरुङ बलियो बनाउने काम। त्यसमा खटिएका छन् ससबहादुर रसाइली। बागलुङ घर भएका उनी एक वर्षदेखि यो काममा खटिएका छन्। तीन सन्तानका बाबु उनी सपनाको घर दह्रो बनाउन सुरुङ बलियो बनाउँदैछन्। उनी कमजोर देखिएको ठाउँमा त्रं्ककिट जाम गरेर सुरुङ बलियो बनाउँछन्।

कडा चट्टान भएको ठाउँमा चाँडै काम हुने र नरम चट्टान हुनेमा ढिला हुने उनको बुझाइ छ। 'कडा चट्टानमा ब्लास्ट गरेर धेरै चट्टान खसालेर काम गर्न सजिलो हुन्छ तर नरम चट्टान भएको ठाउँमा न ड्रिल गरेर राम्रो काम हुन्छ न विस्फोट नै गर्न मिल्छ', उनले भने। यस्तो ठाउँमा टेको लगाउँदै काम गर्नुपर्ने भएकाले समय बढी लाग्ने उनले सुनाए।

छोरालाई इन्जिनियर बनाउने हेल्परको सपना

मेलम्ची प्युलेका ४० वर्षीय बद्री रिमाल पाँच महिनादेखि सुरुङभित्र हेल्परका रुपमा खटिएका छन्। उनले यसै वर्षदेखि छोरालाई राजधानीस्थित एक कलेजमा सिभिल इन्जिनियरिङ पढाउँदैछन्। सुरुङको कमाइबाट छोराको पढाइ पूरा गर्ने उनको सपना छ। मेलम्ची किनारमा खेती गरेर र भैंसी पालेर जीविका चलाउँदै आएका उनले सुरुङमा काम थालेपछि छोरालाई इन्जिनियर बनाउने सोच पलाएको सुनाए।

मासिक २० देखि २२ हजारसम्म कमाउने गरेका उनले काम गर्दा समस्या भए पनि यसबाट पूरा हुने सपनाले उत्साहित बनाएको बताउँछन्। 'एक दिन मेरो छोरा पनि देशको कुनै ठूलो आयोजना निर्माणमा सघाउनेछन्,' उनले भने, 'मेरा लागि त्यो निकै ठूलो दिन हुनेछ।'

काममा तीव्रता

सरकारले आउने दसैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई उपहारको रुपमा दिने सुनाउँदै आएको छ। त्यसैले पनि मजदुरलाई कामको भ्याइनभ्याइ छ। पुस १३ गते सुन्दरीजल–सिन्धु सुरुङ खण्ड साढे नौ किमि 'ब्रेक थु्र' भएको छ। कुल २७.६ किमिमध्ये करिब चार किलोमिटर सुरुङ खन्न अझै बाँकी छ। 'हामी रातभर नसुतीकन काम गरिरहेका छौं,' नवलपरासीका मनबहादुर विक भन्छन्, 'जति सक्दो चाँडो सुरुङको काम सिध्याउने हाम्रो चाहना छ।'

उनीहरूले जति मेहनत गरे पनि कामको गति अचानक नबढ्ने मजदुरको तर्क छ। 'सुरुङ खन्ने काम जादुजस्तो चाँडो गर्न सकिन्न,' विक थप्छन्, 'जीवन जोगाएर आयोजना पूरा गर्ने हो।' माथिबाट आएको दबाबले आफूहरूको विश्राम समय कटौती हुँदै गएको गुनासो उनको छ।

यति बेला सुरुङ खन्दै अम्बाथानबाट एक समूह ग्याल्थुमतर्फ बढेको छ भने ग्याल्थुमबाट अर्को समूह अम्बाथानतर्फ आउँदैछ। त्यसैगरी ग्याल्थुमबाट एक समूह सिन्धुतर्फ बढ्दैछ भने सिन्धुबाट अर्को समूह ग्याल्थुमतर्फ। 'सबैतिर तीव्रताका साथ काम हुँदैछ,' आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडी भन्छन्, 'यसबाट हामी आशावादी बनेका छौं।'

सुरुङ खन्नु सजिलो काम हैन। त्यसमा पनि भूकम्प, नाकाबन्दी, नरम चट्टानु, राम्रा उपकरणसहित आवश्यक सामग्री अभावले पनि समस्या थपेको छ। अभावबीच पनि झन्डै चार सय मजदुर राजधानीवासीको सपना पूरा गर्न खटिएका छन्।

प्रकाशित: २६ चैत्र २०७३ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App