नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन्।
आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको उल्लेख गरे।
उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए। नागरिकता विधेयकलाई असंवैधानिक रुपमा राष्ट्रघात हुने गरी प्रमाणीकरण गरिएको उनको भनाइ थियो।
उनले भने ‘असंवैधानिक हिसाबले प्लेन चढ्नुभन्दा अगाडी नागरिकता विधेयक असंवैधानिक हिसाबबाट यो देशलाई राष्ट्रघात हुने गरी उहाँले राष्ट्रपतिलाई प्रमाणीकरण गर्न उक्साएर, प्रमाणीकरण गरेर कोसेली लिएर जानुभयो। एक हातमा सिन्दूर अर्को हातमा नागरिकता दिने गरी आएको छु महामहिम भन्न पुग्नुभयो। त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो। यो देशका सीमाका विषयमा, लिपुलेक र कालापानीको विषय सत्ता भर्ने, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ? उहाँलाई त्यो अधिकार छ दिल्लीमा गएर, दिल्लीका शासकहरुका सामु लम्पसार परेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी बंगलादेशको सिमाको बाटो लिने गरी सट्टाफेरी गर्ने। यस प्रकारको अपारदर्शी उहाँले कयौँ गतिविधि गरेर आउनुभएको छ। हामीले संसद मार्फत सिंगो देशलाई उहाँले भन्नुपर्छ। अपारदर्शी काम गर्ने? यो देशको सार्वभौमता, यो देशको अखण्डता, नेपालको जमिनमाथि धावा बोलेर आउनुभएको छ। उहाँले देशमाथि गद्दारी गर्नुभएको छ। राष्ट्रघात गर्नुभएको छ। यसको जवाफ दिएर मात्रै पुग्दैन। माफी माग्नुपछि।’
प्रकाशित: २१ जेष्ठ २०८० १०:४४ आइतबार





