२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता शर्मालाई मतदाताको प्रश्न: जग्गाको धनीपुर्जा कहिले आउँछ ?

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सांसद विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर एकका जनताले जग्गाको धनी पुर्जा कहिले आउँछ भनी प्रश्न गरेका छन्।

शुक्रबार झापा क्षेत्र नम्बर १ को साबिक शान्तिनगरमा नेपाली कांग्रेस बुद्धशान्तिले आयोजना गरेको कार्यक्रममा स्थानीय मतदाताले महामन्त्री शर्मालाई गुनासासँगै सुझाव समेत दिएका छन्।

स्थानीय मानबहादुर तामाङले भौतिक विकास भन्दा पहिले आफूहरूलाई धनीपुर्जा आवश्यक भएको भन्दै तत्काल धनी पुर्जा वितरणको कार्यक्रम अघि बढाउन माग गरेका थिए। जवाफमा शर्माले धनी पुर्जा प्राप्तिका लागी बुझाउनु पर्ने मोटो राजस्वका कारण ढिलाइ भएको र राजस्व घटाउन काम भइरहेकाले धैर्य गर्न अनुरोध गरेका थिए।

शर्मा निर्वाचित भएको क्षेत्रमा पर्ने बुद्धशान्ति गाउँपालिकामा मात्रै ५ हजार भन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन्।

संघीय संसद्को निर्वाचन पूर्व ५० परिवारले धनी पुर्जा प्राप्त गरे पनि त्यसयता काम हुन सकेको छैन।सांसद शर्माले हात्ती नियन्त्रण, नदी कटान रोकथाम, कृषि, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा सम्बन्धित मन्त्रालयमा फाइल अघि बढाई कतिपय योजना सुचारु हुने अवस्थामा रहेको उल्लेख गरे।

शर्माले बाहुन्डागी र शान्तिनगर क्षेत्रलाई लक्षित गरी तोरी मौरी कार्यक्रम, बुद्धशान्ति ६ र ७ जोड्ने देशकै दोस्रो लामो झोलुङ्गे पुल, चारधाम निर्माण, चुल्ठे-चारभैया खानेपानी आयोजना, विद्युत् लगायतका क्षेत्रमा योजना परेर काम सुरु हुन लागेको बताए।

मतदाताहरूले शर्मालाई नेपालीलाई भुटानी बनाउने प्रकरणमा काङ्ग्रेस नेता बालकृष्ण खाँडलाई कारबाही नगरिएको र नागरिकता विधेयक बारे समेत प्रश्न गरेका थिए। उत्तरमा शर्माले खाँडको मुद्दा अदालतमा भएकाले अदालती निर्णय पर्खिएको भने पनि नागरिकता विधेयकबारे भने केही बोलेनन्।

कतिपय स्थानीयले भने संसद्मा भ्रष्टाचार र अनियमितताका विषयमा अझ सशक्त रूपमा आवाज उठाउन सुझाव दिएका थिए। सांसद शर्माले मतदाताहरूसँग हरेक चार महिनामा सामूहिक भेटघाट गरी सल्लाह सुझाव लिने र आफ्ना गुनासा भए स्थानीय जनप्रतिनिधि मार्फत सम्पर्क गर्न समेत अनुरोध गरेका थिए।

कार्यक्रममा सहभागीले अन्य धेरै जिज्ञासामा भने सम्बन्धित वडाका वडाध्यक्ष एवं बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले जवाफ दिएका थिए। कार्यक्रममा कतिपय सहभागीले सांसद शर्माको फोन नउठेको भन्दै गुनासो समेत गरेका थिए।

प्रकाशित: १९ जेष्ठ २०८० १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App