१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रियुगा जनप्रतिनिधिको १ वर्षः साढे ११ किमि सडक कालोपत्रे, ७६ मुद्धा फर्स्यौट

वर्षदिनमा गरेका कामको विवरण सार्वजनिक कार्यक्रममा मेयर बस्नेत, उपमेयर राई र प्रमुख प्रशासकीय अधिकृत सिग्देल। तस्बिरः महेश्वर

त्रियुगा नगरपालिकाका जनप्रतिनिधले १ वर्षे अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। बिहीबार आयोजित ‘त्रियुगाको दोस्रो नगर जनप्रतिनिधिको १ वर्षे कार्यावधिको समीक्षा तथा प्रगति सार्वजनिकीकरण’ विषयक पत्रकार सम्मेलनमा वर्षदिने कामहरुको प्रगति सार्बजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा नगरप्रमुख बसन्तकुमार बस्नेतले पर्याप्त बजेटको अभावमा चाहे जस्तो विकास निर्माणका काम गर्न नसकेको बताए। मेयर बस्नेतले सीमित स्रोत साधनका कारण खुम्चिएर काम गर्नुपर्दा जनअपेक्षा अनुसार गर्न नपाएको गुनासो गरे। संघीय सरकारले स्थानीय सरकारमार्फत बजेट कार्यान्वयन गराउनु पर्नेमा उल्टो सीमाभित्र बाँधेर राख्दा काम गर्न थप अप्ठेरो परेको गुनासो पनि गरे। संघीय सरकार स्थानीयतहसँग गर्नुपर्ने समन्वय र सहकार्यको साटो उल्टै स्वीकृत बजेट र योजनाहरु कटौति गर्ने काममा लाग्दा जनप्रतिनिधिलाई थप समस्या परेको दुखेसो उनको थियो।

पर्याप्त स्रोत साधन नभएकै कारण नगरबासीकाको अपेक्षा अनुसार काम गर्न हम्मे भए पनि नगरका १ हजार युवालाई प्राविधिक तालिम दिएर स्वरोजगार बनाएको, महिला, दलित, पिछडा बर्ग, मुसहर समुदायको उत्थान र विकासमा उदाहरणीय काम गरेको मेयर बस्नेतको दावी छ। आफू निर्वाचित भएर आएपछि नगरपालिकाको कामलाई सकेसम्म चुस्त दुरुस्त र पारदर्शी बनाउँदै सुशासनको अनुभूति दिलाउन खोजेको बताए। त्यसका लागि नगरमा जनगुनासो सुन्ने अधिकारी तोकेको, सर्वसाधारणको काम सकेसम्म सहज बनाउन प्रवेशद्वार (गेट)मै नागरिक बडापत्र राखेको, सूचना केन्द्र स्थापना गरेको र भ्रष्टाचाररहित नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारीकोे सम्पति विवरण अनिवार्य सार्वजनिक गर्ने ब्यवस्था गरेको बताए।

नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई उत्तिकै महत्व दिदै आएको उनको भनाइ थियो। जस अनुसार १ वर्षे अवधिमा नगरक्षेत्रमा ११ हजार ६ सय ४७ मिटर सडक कालोपत्रे गरेको, २१ हजार २५ मिटर नाला निर्माण, ४० किलोमिटर ग्रावेल र ७ किलोमिटर लम्बाईका १० वटा नयाँ सडकको ट्रयाक निर्माण गरेको जानकारी दिए। वर्षदिनको अवधिमा सानाठूला गरी ७७ वटा सार्वजनिक भवन निर्माण भई सञ्चालनमा आएको तथा २३ वटा कल्भर्ट बनाउने काम भएको पनि बस्नेतको प्रगति विवरणमा उल्लेख छ।

वर्षदिने प्रगति विरणमा आन्तरिक स्रोतको बजेटलाई सकेसम्म इमान्दारीताका साथ बिकास निर्माण कार्यमा प्रयोग गरेको उनको दावी छ। गाईघाट बजारलाई आधुनिक र सुविधा सम्पन्न सहरको रुपमा विकास गर्दै लाने योजना अनुरुप बजारमा ट्राफिक जाम कम गर्न बरुवा र त्रियुगा करिडोरमार्फत मदन भण्डारी लोकमार्गलाई वाईपास गरेर ठूला सवारी साधन कटाउने योजना अघि सारिएको छ। त्यसैगरी वडाबाट सञ्चालित सबैखाले योजना पारदर्शी र प्रभावकारी बनाउन उपप्रमुख नेतृत्वको प्राविधिकसहितको टोलीलाई स्थलगत अनुगमन गराएर नियमन गर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिएको बस्नेतले बताए।

असहाय, भूमिहीन सुकुम्बासी, बिपन्न, पिछडा बर्ग र सीमान्तकृत नगरबासी समुदायलाई ‘घर वास कार्यक्रम’ मार्फत घर बनाएर हस्तान्तरण गर्ने कार्यक्रम भइरहेको उनले बताए। ती आवास गृह निर्माण सकेपछि उनीहरुलाई हस्तान्तरण गरिने र तयसबाट घरविहीन भएर बस्नुपर्ने अवस्था कुनै नगरबासीलाई नहुने उनको अपेक्षा थियो। पर्यटन विकास गर्न धार्मिक, प्राकृतिक र पर्यावरणीय विकासमा पनि उत्तिै ध्यान दिइरहेको नगरपािलकाले जनाएको छ। त्रियुगा शान्तिधाम निर्माण, विसनपुर हरित पार्क, बेलदोभान झर्ना आदि ठाउँको विकास भइरहेको उनको भनाइ छ।

गाईघाटमा व्ववस्थित खानेपानी सञ्चालन गर्दै नगरबासीलाई २४ सै घण्टा पर्याप्त र स्वच्छ खानेपानी उपलब्ध गराउन बृहत गाईघाट खानेपानी आयोजना निर्माण सुरु भएको, वडा नं. ९ मा रातमाटे लिफ्टिङ खानेपानी र ८ मा शाही खोला खानेपानी आयोजनाजस्ता ठूला योजनाहरु निर्माण भईरहेको पनि उनले बताए।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख महेश्वरी राईले आफूहरु निर्वाचित भएको वर्षदिन अवधिमा सकेसम्म राम्रा र नगरबासीमैत्री काम गरौँ भन्ने उदेश्यका साथ अघि बढिरहेको बताइन्। यसअघि सामाजिक सुरक्षा भत्ता लिन नगरपालिकासम्म धाउनुपर्ने नियमले टाढा टाढाका वडाबासी वृद्धवृद्धा र अशक्त अपाङ्गता भएकाहरुलाई सहज बनाउन आफुहरु जितेर आएपछि वडा कार्यालयबाटै वितरण गर्ने ब्यवस्था मिलाइएको राईले बताइन्। उपमेयर राईले न्यायिक समितिलाई चुस्तदुरुस्त र सेवाग्राहीमैत्री बनाउदै लगेको बताउँदै वर्षदिनमा दर्ता भएका ८५ मुध्दामध्ये ७६ वटा फच्र्याेट गरिसकेको जानकारी दिइन्। कार्यक्रममा नगर प्रवक्ता तथा ३ नं. वडाध्यक्ष तिलक कटवालले १६ वटै वडाका वर्षदिने गतिबिधिको प्रगति विवरण प्रस्तुत गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले त्रियुगा नगरपालिका क्षेत्रफल र जनसंख्याको हिसावले निकै ठूलो भएको तर, संघ र प्रदेशबाट प्राप्त हुने बजेट सानो भएकाले पर्याप्त काम गर्न असहज भएको बताए। विश्वको गिर्दो अर्थतन्त्रका कारण नगरको आन्तरिक स्रोततर्फ पनि उत्साहजनक राजश्व संकलन नहुँदा नगरबासीको असीमित इच्छा आकांक्षा संबोधन गर्न गाह्रो देखिएको सिग्देलको भनाइ छ। नयाँ  जनप्रतिनिधिले वर्षदिनको अवधिमा गरेको काम सन्तोषजनक भएको र आगामी दिनमा थप सशक्त भएर काम गर्न सहयोग गर्दै जाने हाकिम सिग्देलले प्रतिबद्धता जनाएका थिए।  

प्रकाशित: १९ जेष्ठ २०८० १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App