५ वैशाख २०८१ बुधबार
राजनीति

प्रधानमन्त्री दाहालको दिल्ली दौडाहा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनी बसेको होटल मौर्यामा भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा । तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन्। लेखीसहित विदेश मन्त्रालयका अधिकारी र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।

तेस्रो पटक सरकारको नेतृत्वमा आएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका हुन्। दाहाल गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। उनी प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हो। उनी बुधबार दिउँसो १ः२५ को नेपाल एयरलाइन्सको नियमित उडानबाट २ः३५ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका थिए।

यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि नयाँ दिल्लीको होटल एचटिसी मौर्यामा बसेका छन्।

प्रधानमन्त्रीसहितको टोलीलाई दिल्लीको चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा भारतीय विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। जेठ १८ गते बिहानदेखि प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री मोदीसँगको औपचारिक भेट भने दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ।

त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नेछन्। दाहालले मध्य प्रदेशकै इन्दोरको पनि भ्रमण गर्नेछन्। त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन्। दाहालले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग अन्तक्रिया गर्ने सम्भावना छ। गत वर्ष उनी भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली आउँदा भाजपा र माओवादीबिच पार्टीगत सम्बन्ध प्रारम्भ भएको थियो, यो भ्रमणले त्यसलाई पनि निरन्तरता दिने प्रयास हुने बताइएको छ। प्रधानमन्त्रीले भारतीय उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

बिहीबार बिहानदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेट भने दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ।

दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री सहभागी छन्। दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका छ। प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव छन्। परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल टोलीमा छन्।

टोलीमा मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृहसचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल छन्। प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल पनि भ्रमणमा सँगै छन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि छन्। निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, कन्फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिजलगायत संस्थाका प्रतिनिधि पनि भ्रमण टोलीमा छन्।  

प्रकाशित: १८ जेष्ठ २०८० ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App