२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

चौधरीको सजाय मिनाहा,पीडित सर्वोच्चमा

टीकापुर घटनामा जन्मकैद सजाय ठहर भएका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको निहुँ पारेर सजाय माफी मिनाहा दिन सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

जेठ १५ गते सरकारले चौधरीलाई सजायमा आम माफी दिने निर्णय गरेको भन्दै टीकापुर घटनाका पीडित शारदा कठायत बोहोरा लगायतले आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। सर्वोच्च प्रशासनले रिट निवेदन दर्ता भने गरिसकेको छैन। कठायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

रिट निवेदन दर्ता गर्ने वा दरपिठ गर्ने भन्ने निर्णय सर्वोच्च प्रशासनले गरिसकेको छैन। निवेदनका विषयमा अध्ययन भइरहेको प्रवक्ता विमल पौडेलले बताए।

सोमबार गणतन्त्र दिवसमा सार्वजनिक बिदा भएकाले मंगलबार मात्रै दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ। यता सरकारले सजाय माफी मिनाहा गरेका चौधरी लगायत सोमबार जेलबाट छुट्ने भएका छन्।

जिल्ला, उच्च र सर्वोच्च अदालतले गरेको जन्मकैदको फैसलाअनुसार चौधरी आगामी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्ने कानुनी व्यवस्थालाई मिचेर सरकारले १४ वर्ष अगाडि नै माफी दिने प्रक्रिया अघि बढाएको हो। तीन तहको अदालतले गरेको निर्णयलाई राजनीतिक दलहरूले सत्तासँग सौदाबाजी गर्दै आम माफी दिने निर्णय गरेका हुन्।

२०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको ज्यान गएको थियो। रेशमलाई त्यस घटनाका मुख्य अभियुक्त मानी मुद्दा दर्ता भई ठहर भएको हो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

प्रकाशित: १५ जेष्ठ २०८० ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App