७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः रवि लामिछाने

फाईल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट  नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन। 

आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै उनले  सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

 सभापति लामिछानेले भने,  ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला।कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलव छैन । किन मतलव छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरु कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरु कुनै चिन्ह नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचार चाँही निर्मूल पार्नु पर्‍यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन । यो कुरा हामीले बुझेका छौं । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं । अरु विवाद हामी गर्दै गरौंला । अरु छलफल हामी गर्दै गरौंला।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए।

प्रकाशित: १३ जेष्ठ २०८० १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App