coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शिथिल कांग्रेस, दोषी को?

महाधिवेशनको डेढ वर्षपछि प्रचार विभागमा विक

फाइल तस्बिर

नेपाली कांग्रेसले पार्टीको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर विकलाई जिम्मेवारी दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टी विधानको धारा २५ को ९ र ३७ (१) (ग) अनुसार सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेका हुन्। कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। तर महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्न लाग्दा केन्द्रीय कोषाध्यक्षदेखि कुनै पनि निकायलाई पूर्णता दिन सकेको छैन।

कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग-समिति-विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’कांग्रेस विधानको दफा ६० मा भनिएको छ। तर कांग्रेसले अहिलेसम्म कार्यसम्पादन समिति मात्र होइन, केन्द्रीय समितिलाई समेत पूर्णता दिएको छैन। विधानको दफा २१ को ४ अनुसार पार्टीको कोषाध्यक्षजस्तो महत्वपूर्ण पदाधिकारी अझै तोकिएको छैन। विधानको दफा २१ को ४ मा भनिएको छ, ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक।’

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान, अनुशासन समितिसहितका केहीबाहेक कांग्रेस विभागहरू गठन गर्ने र नेता तथा कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्य नेताहरूको प्राथमिकतामा परेको छैन। पार्टीका महत्वपूर्ण विभाग र निकायलाई पूर्णता दिनुको साटो सबै निकायलाई कांग्रेसले तदर्थवादमा सञ्चालन गर्दै आएको छ। कांग्रेस विधानको दफा २१ को १२ अनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ सम्म केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। यसबीचमा मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएका छन्। त्यसका साथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनसहित सत्ता समीकरणसहितका महत्वपूर्ण राजनीतिक उतारचढाव आए पनि कांग्रेसले केन्द्रीय समितिको बैठकको आवश्यकता ठानेको छैन।

पार्टी केन्द्रीय सदस्य एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्। तीसहित मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे मुलुकको पुरानो र लोकतान्त्रिक छवि बनाएको कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने हो। त्यसप्रति सभापति देउवासहितका पदाधिकारीहरूले केन्द्रीय समिति बोलाउनुको साटो टार्दै आएका छन्।

केन्द्रीय समिति बैठकको आवश्यकता सभापति, पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूले पनि महसुस नगरेको आरोप लगाउँदै एक केन्द्रीय सदस्यले भने, ‘बाहिर हामी सबैले बैठक नबसेको कुरा गरेका छौं तर सभापतिसँग त्यस विषयमा कसैले पनि कुरा गरेका छैनौं। उहाँले पनि बैठकको आवश्यकता महसुस गर्नुभएको छैन। सबै गएर ठिक छ, चलेको छ, राम्रो छ भनेपछि सभापतिलाई पनि त्यस्तै लागेको हो।’

पार्टीको बैठक बोलाउनुको साटो नेताहरू बाहिर मात्र कुरा गर्ने तर बैठकका लागि सभापति देउवासहित संस्थापन र इतरका पदाधिकारी दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाउन चासो नै नदेखाएको ती सदस्यको आरोप छ। ‘बाहिर कुरा गर्ने सभापतिलाई नभन्ने हाम्रो परम्पराले पार्टीलाई कमजोर बनाएको छ,’ती सदस्यले भने, ‘यसमा हामी सबै दोषी छौं।’

पार्टीका पदाधिकारीले चाहे सभापतिको चाहनाविपरीत पनि बैठक बस्ने अवस्था आउन सक्ने कांग्रेसकै केही नेताहरू बताउँछन्। पार्टीको बैठकले मात्र नभएर केन्द्रीय कार्यसम्पादन समितिले सभापति र पदाधिकारीलाई अधिकार दिए पनि भ्रातृ संगठन गठन हुन सकेको छैन। २०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो। त्यही बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको थियो। ती संगठनका केन्द्रीय अध्यक्षहरू तोकिए पनि अहिलेसम्म समितिहरूले पूर्णता पाउन सकेका छैनन्। यिनै कारणले गर्दा कांग्रेसका भ्रातृ संगठनहरू ‘पंगु’जस्तै छन्। भ्रातृ संगठन पंगु बन्दा कांग्रेस शिथिल बनेको एक अर्का नेताले बताए।

प्रकाशित: १३ जेष्ठ २०८० ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App