प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन्।
देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उनको जिकीर थियो।
पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहिन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताए।
एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद अवरुद्ध गर्नु परेको पनि अध्यक्ष ओलीको बताए। उनले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएपनि सत्तारुढ दलहरुले मिलेर आरोप लगाईरहेको समेत बताए।
अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरु सांसद भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दावी समेत गरे।
प्रकाशित: १२ जेष्ठ २०८० १७:२२ शुक्रबार