गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन्।
लमजुङमा कार्यालय प्रमुखसँगको भेटघाटका क्रममा उनले भने ‘यो सलामी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहिँकतै नदिनुहोला, यहाँबाट सबैलाई भन्न चाहन्छु।’
साथै मुख्यमन्त्री पाण्डेले जिल्ला आएका समयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु नाकामा स्वागत गर्न जाने, लिन जाने परम्परा पनि हटाउन सुझाव दिए। ‘जनताको काम छाडेर मलाई नाकामा लिन नआउनु,’ उनले भने ‘तपाईहरुको स्वागत सत्कारलाई अन्यथा भन्न खोजेको होइन, तर त्यहाँसम्म जाँदा खर्च हुने समय, राज्यको साधन स्रोतको ख्याल गरौँ।’ जिल्लामा आउने कार्यक्रममै भेटघाट हुने भन्दै उनले सबै जिल्लालाई यो सन्देश दिएका हुन्।
जिल्ला गएका बेला मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमा प्रहरीले सलामी दिने गर्छ। प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु जिल्ला भित्रने नाकामा स्वागतका लागि पुग्ने गर्छन्। मुख्यमन्त्री पाण्डेले सलामी, स्वागत, सत्कार भन्दा जनताको समस्यामा ध्यान केन्द्रित गर्न सबै कर्मचारीलाई निर्देशन दिए।
नागरिकलाई सहज सेवा दिन मालपोत, नापी, प्रशासन लगायतका कार्यालयले टाईकार्ड लागु गर्दा सहज हुने उनले बताए। ‘जनतालाई सुशासन महसुस हुने गरी तपाईहरुले काम गर्नुहोला,’ मुख्यमन्त्री पाण्डेले भने ‘हाम्रा कमीकमजोरीले अहिलेको व्यवस्थामाथि खतरा उत्पन्न हुन दिन हुँदैन।’ ठेक्का लागेर पुरा हुन नसकेका योजना सम्पन्न गर्न गम्भीर भएर लाग्न उनले जिल्लाका सरोकारवालालाई निर्देशन दिए।
लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा मुख्यमन्त्री समक्ष जानकारी गराएका थिए। समस्या सुनेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको साधन स्रोत र क्षमताले भ्याएसम्म सहयोग गर्ने बताए।
प्रकाशित: १२ जेष्ठ २०८० १४:५८ शुक्रबार