४ वैशाख २०८१ मंगलबार
राजनीति

बालकृष्ण खाँणकाे बयान : माेबाईल नं. मेरो हो, फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

यीमध्येका एक हुन बालकृष्ण खाँण । यस्ताे छ उनले प्रहरीलाई दिएकाे बयान:

प्रतिवादीहरूमध्ये टेकनारायण पाण्डे नेपाल सरकारको सचिव भएका कारण चिनेको हुँ। नरेन्द्र केसी म गृहमन्त्री हुँदा मेरो निजी सचिव थिए। टोपबहादुर रायमाझी संविधानसभा सदस्य हुँदादेखि चिनजान छ। मैले २०७८ साल असार महिनाको २९ गतदेखि २०७९ पुस महिनासम्म गृहमन्त्रीका रूपमा कामकाज गरेको हुँ। 

म गृहमन्त्री रहँदा संविधान र कानुनको अधिनमा रही देशमा शान्ति अमनचयन कायम गर्नेलगायत मन्त्रीले गर्नुपर्ने काम इमान्दारीपूर्वक सम्पादन गरेको हुँ। बरामद कालो डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सोबाहेक अन्य थप २ वटा कालो रङ, एउटा खैरो रङको डायरी सम्पत्ति विवरण भरिएका पाना–३८ समेत मेरो हो। भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदललले पेस गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला गृह मन्त्रालय च.नं. ८४३ मिति २०८०।१।२६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६-०७-०१ मा प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर केसी रहेको २ जनाले दस्तखत गरेको, तत्कालीन मन्त्रीले तत्कालीन सचिवका नाममा प्रतिवेदन अध्ययन गरी कार्यान्वयन अगाडि बढाउन भनी तोक लगाएको देखिन्छ।  

भुटानी शरणार्थी समस्या समाधानका उपायहरू पहिल्याउन पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वमा गठित कार्यदलले दिएकै प्रतिवेदन तत्कालीन गृहमन्त्रीको पालामा लिने कार्य भएको, कार्यदलले दिएको प्रतिवेदनउपर थप छलफल भएपश्चात गरिएका निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्न म बाट मिति २०७८।०८।१२ मा स्वीकृत दिइ सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो।  

नेपाल सरकार कार्य सम्पादन नियामावलीअनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्ने, मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषद्ले प्रस्ताव पारित गर्ने गरिएको छ। भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषद्मा पेस भयो। कागजातहरू के–के पेस भए मलाई अहिले सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्यक्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। 

मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन। मन्त्रालयको कागजपत्र, प्रतिवेदन, सम्झौतालगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो। पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी सामाधानका लागि उपायहरू पहिल्याउन गठन गरेको कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागी अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषद्मा उक्त समयमा प्रस्ताव प्रस्तुत गरेको हो। उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो। म गृहमन्त्री भएपछि देशमा शान्ति सु–व्यवस्था र अमनचयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ। यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीले कुनै अवाञ्छनीय गतिविधि नगरुन भनी त्यसका लागी पनि निर्देशन दिँदै आएको हुँ।  

शरणार्थीहरूलाई मानवीय प्रबन्ध गर्नु राज्यको दायित्व हो र पछिल्लोपटक भुटानी शरणार्थीहरूलाई अन्तराष्ट्रिय दात्रृ निकायहरूले सहयोग रोकेको अवस्थामा उनीहरूलाई जिउन सहज बनाउने प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेको हो। यो प्रस्ताव भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो। शरणार्थीका नाममा अवाञ्छनीय गतिविधि रोक्न मन्त्रालयले विभिन्न समयमा परिपत्रसमेत गरेको थियो। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय झापा शरणार्थी समन्वय एकाइ बेलडाँगी झापाबाट मिति २०७८।०८।०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविरवासीलाई सूचना निकाली जानकारीसमेत गराइएको थियो। यसैगरी समय–समयमा निर्देशनहरू पठाइरहेको हो। भुटानी शरणार्थीका नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन।  मोबाइल नं. मेरो हो, फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्दिनँ।

प्रकाशित: ११ जेष्ठ २०८० ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App