७ वैशाख २०८१ शुक्रबार
राजनीति

इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन विवाद भएको सुनेको हुँः रायमाझी

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

यीमध्येका एक हुन टाेपबहादुर रायमाझी । यस्ताे छ उनले प्रहरीला दिएकाे बयान:

हाल पक्राउमा परी आएका प्रतिवादी केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जानेआउने क्रममा चिनजान भएको हो। प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो। प्रतिवादी टेकनारायण पाण्डे मेरो जिल्लावासी र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भयो। प्रतिवादी इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। प्रतिवादी बालकृष्ण खाणलाई विद्यार्थी राजनीति गर्नेक्रममा चिनेको हुँ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ, सोबाहेक अन्य कुरा मलाई जानकारी भएन। मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। प्रतिवादी इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उहाँहरूले जान्ने कुरा हो, मलाई जानकरी छैन। निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन। सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्ने छन्। प्रतिवादी सानु भण्डारीले मलाई मामा भनी सम्बोधन गर्ने विषयमा मैले माथिको जवाफमा खुलाइसकेको छु।  

निज प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखी पटकपटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन। निजले के प्रयोजनका लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन। सो रकम मैले लिएको छैन। मेरो छोरा सन्दिपले कुन प्रयोजनका लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन। मेरो छोरा सन्दिपसँग कम्पनीमा साझेदारीको कुरा सन्दिपले दिएको बयानबाट नै देखिन्छ, मलाई रकम दिएको भन्ने जति पनि विवरणहरू छन, त्यसमा कुनै आधार र सत्यता छैन। निजले ठुलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरू के–कुन प्रयोजनका लागि लेखेका हुन् मलाई जानकारी भएन।  

प्रतिवादी केशवप्रसाद दुलाल र सानु भन्डारीले हामीहरूको भेटघाट नभएको धेरै समय भयो, व्यवसायिक साथीहरूले हेलीको व्यवस्था गरेका छन्, गोसाइकुण्ड गइ फ्रेस भएर आउनुप¥यो भनी मलाइ आग्रह गरेको र मैले समय छैनभन्दा निजहरूले धेरै समय लाग्दैन जानआउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भइ गोसाइकुण्ड गई फोटो खिचाइ फर्किएका हो।  

इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। कामविशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ। मिति २०७७_०९-१६ गते म आफ्नै कामविशेषले गृह मन्त्रालय गएका बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्यकक्षमा छिरे। त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ। कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं भनी सोध्दा निजहरूले हामी पूर्वको मानिस हो, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका थिए। इन्द्रजित राईलाई सानु भण्डारीसँग मैले परिचय गराइदिएको भन्ने कुरा सत्य होइन।  

भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा मलाई थाहा छ। उक्त कार्यदलका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्लाको र सहसचिवसमेत भएको हुँदा उहाँसँग चिनजान थियो। मैले यो विषयमा सुरूदेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु, बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधन हुनुपर्दछ भन्ने मेरो धारणा रहिआएको छ। गैरभुटानी शरणार्थीलाई शरणार्थी बनाइ अमेरिका पठाउने कार्यले नेपालको अन्तराष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ। मेरो छोरालाई पक्राउ परी हतकडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्नेक्रममा पक्राउ परेको हुँ।  

प्रकाशित: ११ जेष्ठ २०८० १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App