७ वैशाख २०८१ शुक्रबार
राजनीति

कोशीका १० जिल्लाको जनसंख्या घट्यो

कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा  जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार  विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा  राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या  अघिल्लो जनगणना २०६८को तुलनामा घटेको तथ्याँक सार्वजनिक गरेको हो।  

तथ्याँक सार्वजनिक गर्दै राष्ट्रिय तथ्याँक कार्यालयका निर्देशक केशवकुमार गौतमले आन्तरिक वसाईसराईका कारण कोशी प्रदेशको पहाडी  र हीमाली जिल्लाको जनसंख्या घटेको बताए। उनका अनुसार कोशी प्रदेशको इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, सोलुखुम्वु, पाँचथरको जनसंख्या घटेको छ। ताप्लेजुङको ०.५३, संखुवासभाको ०.८३,सोलुखुम्बुको ०.०९, ओखलढुंगाको ०.५६,खोटाङको १.५६,भोजपुरको १.३९,धनकुटाको ०.७८,तेह्रथुमको १.३०पाँचथरको १.०२,इलामको ०.३६ प्रतिशतकादरले जनसंख्या घटेको छ। 

यता तराई जिल्लाहरू झापा, मोरङ, सुनसरी र उदयपुरको जनसंख्या भने बढेको छ। झापामा १.९७,मोरङमा १.६६,सुनसरीमा १.८६ र उदयपुरमा ०.६८ प्रतिशतका दरले जनसंख्या घटेको छ।  कोशी प्रदेशमा सबै भन्दा बढी खोटाङ जिल्लाको जनसंख्या घटेको छ। जनगणना २०६८ को तुलनामा खोटाङको जनसंख्या  १.५६ प्रतिशतका दरले घटेको छ। यस्तै सबै भन्दा बढी झापाको जनसंख्या  १.९७ प्रतिशतका दरले बढेको छ।  

सार्वजनिक गरिएको तथ्याँक अनुसार कोशी प्रदेशमा गाउँपालिकामा बसोवास गर्ने  भन्दा नगरपालिकामा बसोबास गर्ने जनसंख्या धेरै रहेको छ। नगरपालिकामा ६२.३ प्रतिशत जनसंख्या बसोवास गर्ने र गाउँपालिकामा ३७.७ प्रतिशत जनसंख्या बसोवास गर्ने गरेको तथ्याँकले देखाएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार अझै पनि कोशी प्रदेशका  ३.२ प्रतिशत परिवारले शौचालय प्रयोग नगर्ने गरेको तथ्याँकले देखाएको छ। कोशी प्रदेशको कुल जनसंख्या भने बढेको छ। 

 राष्ट्रिय जनगणना २०७८ को तथ्याँक अनुसार कोशीको जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ पुगेको छ।  अघिल्लो जनगणना २०६८मा कोशी प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ थियो।  

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशको १० वटा पहाडी जिल्लामा जनसंख्या घट्नुको कारण राजनीतिक दलहरू जिम्मेवार रहेको बताए। उनले पछिल्ला राजनीतिक आन्दोलनहरूको प्रभावका कारण हिमाली र पहाडी क्षेत्रका वासिन्दा गाउँ छाडेर बसाइँ सरेपछि  पहाडी जिल्लाको जनसंख्या घटेको र तराईको जनसंख्या बढेको बताए।  कार्यक्रममा राष्ट्रिय तथ्याँक कार्यालयका निर्देशक  केशवकुमार गौतम र  अधिकृत नन्दलाल सापकोटाले कोशी प्रदेशको  मुख्य नतिजाबारे जानकारी  गराएका  थिए।  

प्रकाशित: १० जेष्ठ २०८० १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App