७ वैशाख २०८१ शुक्रबार
राजनीति

अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ। 

२०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमै भेटेर बैठक गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझीपछि पूर्वगृहमन्त्री खाणलाई गिरोहले दोस्रो चरणमा जोडेर बैठक गरेको सो प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा पहिलो चरणको प्रक्रियामा रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, छोरा प्रतीक थापा र एमाले सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझीमार्फत नै काम भइरहेको तर सरकार परिवर्तन भएपछि उनीहरूबाट काम लिन नसकेपछि खाणसँग बैठक गरेर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा गर्ने निर्णय गराएका थिए। 

शरणार्थीका नाममा ठगीधन्दा चलाउने मुख्य योजनाकारमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन् भन्ने स्पष्ट उल्लेख गरिएको स्रोतले जनाएको छ। 

भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका बेला रायमाझी पनि सानुको घरनजिकै बस्ने भएकाले मामा नाता लगाउँदै योजना बनाएको पनि सो प्रतिवेदनमा उल्लेख छ। रायमाझीले नै दुलाल र भण्डारीलाई राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।  

यो प्रकरणको अनुसन्धान र छानबिन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन आइतबार साँझ मात्र सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। 

प्रकाशित: ९ जेष्ठ २०८० १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App