१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?

प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दीनमणि पोखरेलले चासो राखेपछि रोकिएको हो। 
 

प्रहरी उच्च स्रोतका अनुसार आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडाै‌मा आइजिपी कुँवर, महान्यायाधिवक्ता पोखरेल, एआईजी श्याम ज्ञवाली, परिसर प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको संयुक्त बैठक बसेको थियो। त्यसक्रममा उच्च राजनीतिक दबाब रहेको र अनुसन्धान प्रतिवेदनलाई केही हेरफेर गर्न आग्रह गरिएको थियो। तर प्रहरी परिसर काठमाडौंका एसएसपी कार्कीले त्यसमा हेरफेर हुन नसक्ने जनाएका थिए।

‘प्रतिवेदनमा कुनै हेरफेर हुँदैन, प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जे गर्नु छ उतै गर्नुहोला,’ एसएसपी कार्कीले भनेका थिए। त्यसपछि अनुसन्धान प्रतिवेदन जस्ताको तस्तै सरकारी वकिलको कार्यालयमा बुझाउने सहमति भएको थियो। प्रहरीको अनुसन्धानका विषयमा जानकारी लिन भन्दै आइजिपी आफैँ परिसर पुगेका थिए। साथै महान्यायाधिवक्ता पोखरेल पनि आइजिपीसँगै गएका थिए।  

‘प्रहरीलाई राजनीतिक दबाब थेग्न कठिन भइरहेको छ, अनुसन्धान हुँदै गरेको विषयमा परिसर प्रमुखले गृहमन्त्री, आइजिपी तथा महान्यायाधिवक्तालाई आफैँ गएर ब्रिफिङ गर्ने चलन छ तर परिसरमै आइजिपी र महान्यायाधिवक्ता आउनुले त्यसमा शंका गर्ने ठाउँ छ,’ उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले भने। उनका अनुसार करिब चार घन्टा परिसरमा आइजिपी, महान्याधिवक्ता र एआइजीसहित परिसर प्रमुख एसएसपी दानबहादु कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीबीच छलफल भएको थियो। उच्च राजनीतिक व्यक्तिहरू यो प्रकरणमा मुछिएपछि सर्वत्र चासो बढिरहेका बेला प्रहरी अनुसन्धान प्रतिवेदन प्रभावित पार्न खोजेको आशंका गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८० ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App