कर्णाली प्रदेशको बजेट अधिवेशन जेष्ठ १० गते बुधबार हुने भएको छ।
कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले बजेट अधिवेशन जेष्ठ १० गते दिउँसो ३ बजे आह्वान गर्ने गरी प्रदेश प्रमुख तिलक परियार समक्ष सिफारिस गरेको हो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
मन्त्रीहरुले नीति कार्यक्रमका बारेमा सरोकारवालासंग छलफललाई तिव्रता पारेका छन्। शिक्षा, स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
कर्णाली प्रदेशका मन्त्रालयहरुले बजेटका विषयमा छलफल गर्नुका साथै बजेट निर्माण गरिरहेका छन्। कर्णाली प्रदेशका मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयहरु हिजो आज योजना माग गर्न नेता/कार्यकर्ता तथा जनप्रतिनिधिहरुको घुईचो लाग्ने गरेको छ।
कार्यक्रम कार्यकर्तामुखी भन्दा पनि परिणाममुखी हुनुपर्ने सरोकारवालाहरुले सुझाएका छन्। यसअघि १७ वैशाखमा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो। नयाँ सरकार गठन भएयता पहिलो अधिवेशनमा १५ वटा बैठक बसेको थियो।
प्रकाशित: ८ जेष्ठ २०८० १६:५१ सोमबार