'माओवादी शान्ति प्रक्रियाप्रति जिम्मेवार हुने हो भने तोकिएकै समयमा संविधान घोषणा हुन्छ,' मंगलबार नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले भने, 'दलहरुबीच शान्ति प्रक्रियाबारे सहमति भए संविधानसभाको म्याद थप्न आवश्यकै छैन।'
कोइरालाले सरकार परिवर्तनबारे चलेका हल्ला निराधार भएको टिप्पणी गरे। 'माओवादीले आफै राजीनामा दिएर सरकार छाडेपछि अरु दलहरु मिलेर सरकार बनाएको हो, त्यसैले अहिले सरकार परिवर्तन हुँदैन,' उनको भनाइ थियो।
अर्का वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया टुंगो नपुर्याई संविधान घोषणा भयो भने त्यसको औचित्य नहुने बताए। 'संविधान-संविधानमात्रै भनेर हुँदैन, शान्ति प्रक्रिया पूरा नभई संविधान घोषणाले मात्रै मुलुकका समस्या समाधान हुँदैनन्,' उनले भने।
सरकार विरुद्ध अविश्वासको प्रस्ताव लाने तयारी गरेको माओवादीलाई देउवाले यही सरकारमा सहभागी हुन आग्रह पनि गरे।
संसदीय दलका नेता रामचन्द्र पौडेलले भदौमा हुने बाह्रौँ महाधिवेशनले पार्टीमा थप ऊर्जा दिने बताए।
कार्यक्रम नेपाल विद्यार्थी संघका पूर्प अध्यक्षहरु गोविन्द भट्टराई, गुरु घिमिरे, महेन्द्रकुमार शर्मा, केशव सिंह र किशोरसिंह राठोरले संयुक्त रुपमा गरेका हुन्।
प्रकाशित: ३१ चैत्र २०६६ २२:२२ मंगलबार





