coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धूमधामसहित प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन

दोस्रो बागमती प्रदेश खेलकुदको उद्घाटन गर्दै मुख्यमन्त्री जमरकट्टेल।

आइतबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा धुमधामकाबीच दोस्रो प्रदेश खेलकुद खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ।

राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति, आतिसबाजी तथा नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुति एवम् झाँकीसहित प्रतियोगिताको उद्घाटन गरिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रदेश खेलकुदको उद्घाटन गर्दै उनले बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष महत्त्व दिएको दाबी गरे।

‘हामीले खेल क्षेत्रलाई विशेष महत्त्व दिएका छौं। गत वर्षबाट सुरु भएको यस प्रतियोगिताको निरन्तरताबाट पनि हामीले खेलकुदलाई महत्त्व दिएको प्रमाणित हुन्छ’, उनले भने, ‘स्वस्थ प्रतिस्पर्धासहित जितका लागि सहभागी सबै खेलाडीलाई शुभकामना दिन चाहन्छु।’

प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यस प्रतियोगिता खेलाडी उत्पादनमा महत्त्वपूर्ण हुनसक्ने दाबी गरिन्। उनले आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताइन्।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिता सुर भएको हो। यस वर्ष विभिन्न १३ वटा खेल विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

पहिलो वर्ष ८ वटा विधामा स्पर्धा भएकोमा यस वर्ष फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्बी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुँदैछ। बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार एक हजार ७५ महिला र एक हजार ४२७ पुरुष गरी २ हजार ५०२ जना खेलाडीले २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि खेल्नेछन्। पदक विजेता खेलाडीहरुले नगद पुरस्कार समेत प्राप्त गर्नेछन्।

प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः जनही नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, महिला र पुरुष भलिबल, रग्बी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टनका खेलहरु हेटौंडामा हुनेछ भने उसु र जुडो काठमाडौंमा हुनेछ। यस्तै पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ। प्रतियोगिताका लागि करिब ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताका लागि विभिन्न उपसमिति निर्माण गरिएको छ।

प्रतियोगिताको उद्घाटनमा गायिका रचना रिमाल, एन्जिला रेग्मी, बाल गायक जेनिस उप्रेती लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए। उद्घाटनमा प्रदेशका मन्त्रीहरुसहित विभिन्न खेल सम्बद्ध राष्ट्रिय पदाधिकारीहरुको आतिथ्यता थियो।

प्रकाशित: ७ जेष्ठ २०८० १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App