५ वैशाख २०८१ बुधबार
राजनीति

कोशी प्रदेश योजना आयोगका उपाध्यक्षले लिए शपथ

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सबैको सहयोगमा समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताए। उनले कोशी प्रदेश हुनु भन्दा पहिले प्रदेश १ नाम रहेको र अब, कामको हिसाबले नै प्रदेशलाई एक नम्बर बनाइन सबैको सहयोग आवश्यक रहेको बताए।

कार्कीले भने ‘कोशी भन्दा पहिले १ नं प्रदेश नाम भएका कारण सबैको सहयोगमा अब, कामकै हिसाबले एक नम्बर प्रदेश बनाउनुपर्छ।’

मुख्यमन्त्री कार्कीले विश्वव्यापी आर्थिक मन्दीको प्रभावका कारण प्रदेशको बजेट घट्ने अवस्था आएको बताए। उनले स्थानीय उत्पादनलाई बढाउने, रोजगारी सृजना गर्ने र करको दायरा बढाउने विषयमा प्रदेशको आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने जानकारी दिए।

प्रदेश योजना आयोगका नव नियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले प्रदेशको आर्थिक विकासका लागि साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धन र रैथाने आर्थिक गतिविधिका क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि बढाउन आवश्यक रहेको बताए। सबै सरकारी निकाय, निजी क्षेत्रलगायत सरोकारवाला पक्षहरूसँगको छलफल र सहयोगमा प्रदेशको आर्थिक अवस्था सुधारका लागि प्रयत्नशील रहने उप्रेतीले प्रतिबद्धता व्यक्त गरे।

शपथ ग्रहण कार्यक्रममा प्रदेशका मन्त्रीहरू, सचिवहरू, प्रदेशसभा सदस्यहरूलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ जेष्ठ २०८० १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App