१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश सरकारका सय दिन सरकार विस्तारमा अलमल

फाइल तस्बिर

देश संघीयतामा गएपछि दोस्रो पटक गत मंसिर ४ गते भएको प्रदेशसभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत आएन। ५३ सदस्यीय प्रदेश सभाका २९ (बहुमत) सदस्य पुगाएर पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार विस्तार नहँुदै ढल्न पुग्यो। कुनै दलको बहुमत नपुगेकाले संविधानको धारा १६८ को २ बजोजिम रावल मुख्यमन्त्री बनेका थिए।  

धारा १६८ को ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेताका हैसियतले नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भए। माघ २७ गते प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ खाएकै दिन नेपाली कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्री नियुक्त गरे।  

केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि विश्वासको मत प्राप्त गर्न सहज भए पनि मुख्यमन्त्री शाहलाई मन्त्रिपरिषद् विस्तार गर्न भने सकस भयो। भागबन्डामा सहमति जुटाएर सरकार विस्तारमा सहयोग गरिदिन भनेर कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतालाई भेट्न उनी कैयौंपटक काठमाडौं पुगे। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी सत्तागठन्धनमा रहेका छन्।  

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबिच भागबन्डा नमिलेका कारण प्रदेश सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन। सरकार विस्तार गर्न नसक्दा ४ मन्त्रालय मन्त्रीविहीन छन्। सरकारले पूर्णता नपाउँदा प्रदेश सरकारका कामले गति लिन सकेको छैन भने प्रदेशसभा पनि बिजनेसविहीन बनेको छ।

शाह नेतृत्वको प्रदेश सरकारले १ सय दिन पार गरेको छ। सत्तागठबन्धनमा रहेका राजनीतिक दलबिच भागबन्डा नमिलेका कारण प्रदेश सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन। सरकार विस्तार गर्न नसक्दा ४ मन्त्रालय मन्त्रीविहीन छन्। सरकारले पूर्णता नपाउँदा प्रदेश सरकारका कामले गति लिन सकेको छैन भने प्रदेशसभा पनि बिजनेसविहीन बनेको छ।

प्रदेश सरकारका १ सय दिन भएको अवसरमा उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारमा ढिलाइ भएको स्वीकार्दै शुक्रबारै मन्त्री नियुक्त गरेर शपथ खुवाउने बताएका थिए। तर शुक्रबार पनि सरकार विस्तार हुन सकेन।

पत्रकार सम्मेलनमा उपस्थित रहेका नेकपा माओवादी केन्द्रका संसस्यीय दलका नेता खगराज भट्टले १ सय दिनसम्म सरकार विस्तार हुनु नसक्नु लज्जाको विषय भएको बताए। ‘१÷२ दिनमा सरकार विस्तार हुन्छ भनेर भन्दा भन्दा पत्रकारलाई जवाफ दिन पनि अप्ठ्यारो लाग्ने अवस्था भयो,’ उनले भने, ‘सरकार विस्तारमा भएको ढिलाइ आत्मालोचनाको विषय भएको स्विकार्नुपर्छ।’  

नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएर सिफारिस गरिसकिएको उनले बताएका थिए। माओवादी केन्द्रभित्र मन्त्रीका अकांक्षी बिच रस्साकस्सी चलिरहेको स्रोतले बताएको छ।  

यसैबिच प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पत्रकार सम्मेलन गरेर १ सय दिनसम्म प्रदेश सरकार विस्तारसमेत नगरी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री घुमघाममा मात्र व्यस्त रहेको भन्दै टिप्पणी गरेका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेशसभा सदस्य रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०८० ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App