coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस पार्टी हावा न चावा- अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। उनले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको पनि बताए।  

बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए। उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए। अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताए।  

उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली काँग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।

उनले अब देश बनाउने अभिभारा नेकपा एमालेकाे भएकाे दाबी पनि गरे। उनले भने, 'यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन । हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन हो, कार्यक्रम बिहीन गठबन्धन हो।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए। उनले अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सिमित रहेको दाबी गरे।  

प्रकाशित: ३ जेष्ठ २०८० ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App