१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

रेशम चौधरी तत्काल छुट्न नपाउने, जन्मकैद पठाउने उच्च अदालतको फैसला सर्वोच्चद्वारा सदर

फाइल तस्बिर

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा पुनरावेदन जिकिर नपुग्ने भन्दै उच्च अदालतकै फैसला सदर गरेको बताए। उनले दुई जना प्रतिवादीहरु सीताराम चौधरी र गंगाराम चौधरीले भने आरोपित कसुरबाट सफाई पाउने फैसला गरेको बताए। उनले अर्का प्रतिवादी लक्ष्मण थारु चौधरीको हकमा पहिलाको उच्च अदालतको आदेशअनुसार लागेको कैदमा केही कम अर्थात ३ वर्षको सजाय नै ठहर हुने फैसला भएको बताए।

उनले भने, ‘आज सर्वोच्च अदालतको संयुक्त इजलासबाट रेशम चौधरीबिरुद्ध नेपाल सरकार भएको मुद्दामा फैसला प्राप्त भएको छ। संक्षिप्त आदेशमा पुनरावेदकहरुको तर्फबाट परेका विभिन्न वहस र नेपाल सरकारको तर्फबाट भएका वहसलाई समेत हेरेर यो निर्णय भएको छ। यो आदेशको मुल सारमा दुई जना प्रतिवादीहरु जो सीताराम चौधरी र गंगाराम चौधरीको उहाँहरुले आरोपित कससुरबाट सफाइ पाउने ठहरिएको छ भने अर्का प्रतिवादी लक्ष्मण थारु चौधरीको हकमा पहिलाको उच्च अदालतको आदेशअनुसार लागेको कैदमा केही कम अर्थात ३ वर्षको सजाय नै ठहर हुने फैसला भएको छ भने अन्य अभियुक्तले सफाई पाउँ भनेर पुनरावेदन जिकिर पुग्न नसक्ने भन्ने छ।’

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन्। उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ।

प्रकाशित: २ जेष्ठ २०८० ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App