coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धन बिरोधीलाई मन्त्री नबनाउने कांग्रेसको अडान

गठबन्धन बिरोधी काम गरेकाहरुलाई लुम्बिनी प्रदेश सरकारमा सामेल गराउन नहुने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ। कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनको बिरोधमा रहेकाहरुलाई सरकारमा सहभागी गराउन नहुने निष्कर्षमा कांग्रेस रहेको बताए। गठबन्धनको भावना र मर्यादा बिपरित बिद्रोह गर्नेहरुलाई पुरस्कृत गर्नु गठबन्धनको मर्म बिपरित हुने उनको भनाई छ। ‘हामीहरु हिजो चुनावका बेला पनि गठबन्धनमा थियौँ र अहिले पनि गठबन्धनमै छौँ,’ सभापति पुनले भने ‘गठबन्धनको बिद्रोहमा गएर गलत काम गर्नेहरुलाई सजाय दिईनु पर्छ, पुरस्कार हैन भन्ने कांग्रेसको निक्र्यौल हो।’  

गठबन्धनको बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका केहि सांसदहरु माओवादीमा सामेल भएका छन्। माओवादीले उनिहरु मध्य केहिलाई मन्त्री बनाउने तयारी गरिरहेको छ। तर कांग्रेसले भने उनिहरुलाई कुनै पनि हालतमा सरकारमा सहभागी नगराउन दबाब दिएको छ। ‘यदि गठबन्धनको बिरोधमा उत्रिएकाहरुलाई मन्त्री बनाउने हो भने गठबन्धनको मर्म के त ?’ सभापति पुनले भने ‘गठबन्धनको मर्म र भावना बिपरित कोहि पनि जानु हुँदैन भन्ने हाम्रो मान्यता हो।’ स्रोतका अनुसार गठबन्धनको बिरुद्ध उम्मेदवारी दिएर निर्वाचित रोल्पाका प्रदेशसभा सदस्य दिपेन्द्र पुनलाई सरकारमा पठाउने निर्णय माओवादीले गरिसकेको छ।  

पुन कांग्रेसको बिरुद्ध रोल्पामा स्वतन्त्र उम्मेदवार बनेका थिए । माओवादी केन्द्रका उनि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएलगत्तै पुनः माओवादीमै फर्किएका थिए। माओवादीको भागमा ३ मन्त्रालय परेका छन्। तीन मधय एउटा मन्त्रालय गठबन्धन बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित दिपेन्द्र पुनलाई जिम्मा दिने निर्णय माओवादीले गरिसकेको छ। यसैगरि बाँकेकी कृष्णा केसीलाई पनि सरकारमा पठाउने निर्णय माओवादीको छ। दाङका धनबहादुर मास्की भने मन्त्री नियुक्त भैसकेका छन्। उनले अर्थमन्त्रालय पाएका छन्। तर कांग्रेस भने माओवादीको यो कदमलाई रोक्ने प्रयासमा छ। मुख्यमन्त्री डिल्ली बहादुर चौधरी केहि दिनमै मन्त्री परिषदलाई पूर्णता दिने तयारीमा छन्।  

प्रकाशित: २ जेष्ठ २०८० ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App