८ वैशाख २०८१ शनिबार
राजनीति

शरणार्थी बनाउन गृहको गाडीमा चितवन

दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो।  

अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो।  

अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनीहरुले कसरी लैजान्छन् भन्ने चाहिँ शुरुमा थाहा थिएन।’

२०७७ असार दोस्रो साता तिर उनलाई अकस्मात चितवन जान भनियो। अमेरिका उड्नका लागि अन्तरवार्ता दिन भन्दै चितवन बोलाईएकी उनी त्यो बेला काठमाडौँमै थिईन्। उनका बिरामी बाबुको उपचारका लागि उनी काठमाडौँमै थिईन्। बिरामी बुवालाई छोडेनर चितवन जान उनको मनले मानेन।  

त्यसमा पनि कोरोनाकालको त्यो बेला कडा लकडाउन थियो। यातायातका साधनहरु ठप्पै थिए। ‘तुरुन्तै अन्तरवार्ताका लागि चितवन जानु पर्यो भनेर फोन आयो,’ उनले भनिन् ‘बिरामी बुवालाई छोडेर कसरी जाने ? अनि त्यसमा पनि लकडाउनका कारण यातायातका साधनहरु चलेका थिएनन्।’ तर अमेरिका उड्ने लोभ देखाईयो,अनि एकै दिनका लागि मात्रै चितवन पुग्नै पर्ने बाध्यता सुनाईयो।  

बिरामी बाबुलाई आफन्तको जिम्मा लगाएर उनी चितवन हिँड्न राजी त भईन्। तर लकडाउनमा चितवन सम्म पुग्ने कसरी ? यो उनका लागि चुनौती थियो। अनि उनलाई फोन गरेका ब्यक्तिले आफूहरुसंगै जान भने। ‘मलाई कसरी चितवन पुग्ने भनेर चिन्ता नगर्न भनियो,’उनले भनिन् ‘आफूहरुसंगै जाँदा बाटोमा कुनै समस्या नहुने भन्दै उनीहरुले ढुक्क रहन आग्रह गरे।’

चितवनका यात्राका लागि तयारीमा रहेकी लक्ष्मीलाई लिन सरकारी गाडी गईपुग्यो। बुझ्दै जाँदा त्यो गाडी गृहन्त्रालयको रहेछ। ‘मलाई लिन गृहमन्त्रालयको गाडी आयो,’ उनले भनिन् ‘त्यो गाडीमा महिला म मात्रै थिएँ।’ उक्त गाडीमा चालक सहित अर्का एकजना पुरुष थिए। उनी दाङकै आकाश रेग्मी हुन्। ‘म , गाडी ड्राईभर र आकाश रेग्मी भन्ने मान्छे मात्रै थियौँ,’ उनले भनिन् ‘गृह मन्त्रालयकै गाडी भएका कारण बाटोमा कुनै समस्या नहुने भनेर मलाई आकाश भन्ने ब्यक्तिले भनेका थिए।’

गृहमन्त्रालयकै गाडीमा चितवन हिँडेपछि लक्ष्मीलाई अमेरिका यात्रा झनै साकार हुने बिश्वास पलायो। ‘गृह मन्त्रालयकै गाडीमा अन्तरवार्ताका लागि चितवन जान थालेपछि मलाई अमेरिका यात्राको सपना पुरा हुने बिश्वास दिलायो,’ उनले भनिन् ‘मलाई सरकारले नै अमेरिका पठाउन थालेको रहेछ भन्ने लाग्यो।’  

गृह मन्त्रालयको गाडीमा सुरु भएको चितवन यात्रा राती अबेर टुंगियो। राती चितवन स्थित पूर्व गृहमन्त्री रामबहादुर थापाको छोराको भनिएको एक होटेलमा पुर्याईयो। ‘हामीहरुले राती बाटोमै खाना खायौँ,’ उनले भनिन् ‘राती १२ बजेतिर हामी चितवन पुग्यौँ, एउटा होटेलमा पुर्याईयो।’ लक्ष्मीका अनुसार राती नै अन्तरवार्ता तथा प्रशिक्षण दिने भनियो। काठमाडौँबाट गृहमन्त्रालयको गाडीमा चितवन पुगेकी लक्ष्मीले दाङबाट चितवन पुगेका आफू जस्तै अमेरिका उड्ने सपना बुनेका ६० जना भन्दा बढि दंगालीहरु त्यहिँ भेटिन्। ‘हामी दाङका मात्रै ६० जना भन्दा बढि थियौँ,’ उनले भनिन् ‘त्यहाँ भेट भएका सबै गजेन्द्र बुढाथोकी भन्ने ब्यक्ति मार्फत अमेरिका उड्न खोजेकाहरु मात्रै थियौँ।’

गृहको गाडीमा चितवन पुगेकी लक्ष्मीलाई गृहकै प्रतिनिधि बताउने एक ब्यक्तिले प्रशिक्षण दिन थाले। ती ब्यक्तिले आफूलाई गृहले संयोजकका रुपमा तोकेको ब्यक्ति भनेर परिचय दिएका थिए। तर ति ब्यक्ति आफू चितवन पुगेको गृहमन्त्रालयको गाडीमा भने थिएनन्। त्यहाँ दाङका आकाश रेग्मी र आफूलाई अमेरिका पठाउने आश्वासन दिएका मुख्य ब्यक्ति गजेन्द्र बुढाथोकी पनि त्यहाँ थिए। ‘गृह मन्त्रालयले मलाई संयोजक बनाएर खटाएको छ भनेर सरकारी पोशाकमा रहेका ति मान्छेले भनेका थिए,’लक्ष्मीले भनिन् ‘तर ति मान्छे हामी संग गाडीमा भने थिएनन्।’ लक्ष्मीलाई ति ब्यक्ति ठ्याक्कै यहि हो भन्ने एकिन भने छैन। ति ब्यक्तिे मास्क लगाएका कारण आफूले उनको अनुहार ठम्याउन नसक्ने लक्ष्मीको भनाई छ। ‘मास्क लगाएका थिए, अनुहार देख्नै पाएनौँ,’ उनले भनिन् ‘तर ति मान्छे बुढो उमेरका थिए।’  

रातीनै सुरु गरिएको प्रशिक्षणका क्रममा लक्ष्मी लगाएतले बल्ल थाहा पाएकी आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउन थालिएको रहेछ भन्ने। उनीहरुले त्यो बेला नेपाली नागरिकता च्यात्नु पर्ने र नयाँ परिचय पत्र आउने बताएका थिए। ‘नेपाली नागरिकता च्यात्नु पर्छ,नयाँ परिचय पत्र आउँछ भने,’ उनले भनिन् ‘शरणार्थी बनेर अमेरिका जाने हो भनेर त्यहि बेला बल्ल थाहा पायौँ।’ तर उनीहरुले भुटानी शरणार्थी बनेर आफूहरु जान थालेको भनेर कसैलाई पनि नभन्न आग्रह गरेका थिए।  

उक्त चितवन प्रशिक्षणकै क्रममा लक्ष्मीको नाम फेरिदिए। लक्ष्मीलाई अहिले उक्त नाम थाहा छैन। ‘मेरो नाम पनि फेरिदिए, अब तपाईको नाम यो भनेर अर्कै नाम भनिदिएका थिए,’ उनले भनिन् ‘त्यो नाम अहिले मैले बिर्सेँ।’ प्रशिक्षणका लागि भन्दै नक्कली शरणार्थी बनाउन चितवन पुयाईएका सबै बाट प्रति ब्यक्ति १०÷१० लाख रुपैयाँ असुल गरे। ‘अब चाँडै अमेरिका उड्ने भैहाल्छ भनेर हामी सबैबाट १०÷१० लाख रुपैयाँ लिएका थिए,’ उनले भनिन्।

काठमाडौँमा सुरुमा ५, त्यसपछि चितवनमा १५ लाख संगै अमेरिका उडाउने उक्त समूहले लक्ष्मी संगै ४५ लाख रुपैयाँ असुल गर्यो। तर लक्ष्मीको अमेरिका उड्ने सपना अधुरै रह्यो। नत आफूले बुझाएको ४५ लाख रुपैयाँ मध्य अहिले सम्म उक्त रुपैयाँनै फिर्ता भएको छ। ‘मेरो ४५ लाख रुपैयाँ मध्य एक रुपैयाँ पनि फिर्ता गरिदिएको छैनन्,’ उनले भनिन् ‘नत अमेरिका पठाए, नत पैसा फिर्ता दिए, ब्याजमा ऋण काढेर बुझाएको पैसा साहुलाई कसरी तिर्ने ? साह्रै गाह्रो भएको छ।’

७७ चैत देखि अमेरिका जान भन्दै झुक्याएको उक्त समूहको आशमा लक्ष्मीले ०७८ चैत सम्म कुरिन्। तर अमेरिका उडाउने भनेर रकम उठाएका गजेन्द्र बुढाथोकी सम्पर्क बिहिन हुँदै गए। ‘गजेन्द्र भन्ने मान्छे बेपत्ता भएपछि हामीहरु ठगियौँ भन्ने लाग्यो,’ तुलसीपुरका रमेश केसी (नाम परिवर्तन) ले भने सुरुमा पैसा पनि दिन्छु त भने, तर पछि त्यो मान्छे सम्पर्कबाट टाढा बन्दै गयो।’ उनीहरुले गजेन्द्र बिरुद्ध गत २०७९ पुसमा किटानी जाहेरी समेत दिएका छन्।    

प्रकाशित: २७ वैशाख २०८० १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App