८ वैशाख २०८१ शनिबार
राजनीति

रायमाझी भागे कि भगाइए ?

नक्कली भुटानी शरणार्थी प्रकरण

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा प्रत्यक्ष तानिएकामध्ये टोपबहादुर रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’व्यक्ति हुन्। पूर्वउपप्रधानमन्त्री रायमाझी नेकपा एमालेका सचिव पनि छन्। उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन्। शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन्। प्रहरी संयन्त्रले उनलाई ६ दिनदेखि खोजिरहेको छ। प्रहरी प्रधान कार्यालयले मातहतका ७७ वटै जिल्ला कार्यालयलाई रायमाझीलाई पक्राउ गर्न पत्राचार गरिसकेको छ। रायमाझीलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि विशेष टोली परिचालन गरेको छ। उनी भारत गएर लुकेको प्रहरी अनुमान छ।  

शरणार्थी प्रकरणमा रायमाझीको संलग्नताबारे बलियो प्रमाण फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौं उनलाई पक्राउ गरी अनुसन्धान गर्ने निर्णयमा पुगेको हो। सोहीअनुसार प्रहरीले यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट रायमाझीलाई पक्राउ गर्न अनुमति लिएको थियो। काठमाडौंमा पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा थिए। सुरुमा उनले प्रहरी अनुसन्धानमा सघाउने बताएका थिए।

रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमाले वृत्तमा तरंग सिर्जना भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ गते सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी यस विषयमा चासो राखे। सिंहदरबाबाट बाहिरिने क्रममा ओलीले पत्रकारसँग रायमाझीलाई पक्राउ गर्ने कुरा रहस्यमय र षड्यन्त्रपूर्ण रहेको र उपप्रधानमन्त्री भइसकेको व्यक्ति भागेर कतै नजाने बताएका थिए। अर्घाखाँचीबाट २० गते सभामुख घिमिरेसँगै बुटवल झरेका रायमाझी सोही दिन गौतम बुद्ध विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम थियो। जसका लागि उनले बुद्ध एयरको टिकट लिएका थिए। तर उनी काठमाडौं आएनन्। विमानस्थलमै पक्राउ पर्ने डरले उनले विमानको टिकट रद्द गरेको स्रोत बताउँछ। २१ गते रायमाझीलाई भैरहवामा प्रहरीले नियन्त्रणमा लिएको र स्थल मार्गबाट काठमाडौं ल्याइँदै गरेको समाचार बाहिरियो। यो समाचार एमालेस्रोतबाट आएको बताइन्छ। तर साँझ रायमाझी फरार भएको समाचार दिइयो। रायमाझी भैरहवाबाट एकाएक बेपत्ता भए। यी सबै घटनाक्रम शंकास्पद छन्।  

‘कतै न कतै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटको नतिजाले नै टोपबहादुर रायमाझीलाई फरार बनाएको हो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘उनले अहिले ठुलो दलको पदाधिकारी, पूर्वउपप्रधानमन्त्री र सांसद भएको फाइदा उठाइरहेका छन्।’विपक्षीहरूले रायमाझी बालकोटस्थित एमाले अध्यक्ष ओलीनिवासमा लुकेर बसेको टिप्पणीसमेत गरिरहेका छन्।

रायमाझीलाई जोगाउन खोज्दै एमाले

रायमाझीलाई जोगाउने रणनीतिमा एमाले देखिएको छ। एमाले सचिवालयको मंगलबार बसेको बैठकले अझै पनि रायमाझीका पक्षमा रक्षात्मक मनस्थिति देखाएको छ। बैठकले रायमाझीलाई निलम्बन वा कारबाही केही नगरी उनका पक्षमा रक्षात्मक हुने मनस्थिति दर्साएको हो। ‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो,’एमाले प्रचार विभागप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि भने, ‘यस सन्दर्भमा सचिव टोपबहादुर रायमाझीले विधिपूर्वक कानुनसम्मत सघाउनुपर्छ भन्ने निर्णय भएको छ।’  

रायमाझीलाई पार्टीले कारबाही गर्छ त भन्ने पत्रकारको प्र्रश्नमा गुरुङले भने, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र? दोषी ठहर भइसकेको हो र? अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ। यस्ता कुरामा हतार गरेर हुँदैन।’ एमाले अध्यक्ष ओली सुरुदेखि नै अनुसन्धानलाई सघाउने भन्दै रायमाझीको पक्षमा कूटनीतिक जवाफ दिँदै आएका छन्। यस्तोमा एमाले वृत्त समग्र घटनाक्रमलाई विषयान्तर गरेर अघि बढ्न खोजिरहेको छ। रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि ओलीले तीन पटकसम्म प्रधानमन्त्री दाहाललाई भेटिसकेका छन्।  

‘कर्मकाण्डी’ छापा

एमाले सचिव रायमाझी फरार भएपछि प्रहरी पनि दबाबमा छ। रायमाझी फरार हुनुले प्रहरी अनुसन्धानमै आशंका पैदा हुन थालेको छ। हाई प्रोफाइलका मानिसको संलग्नता देखिएपछि अनुसन्धानमा सुस्तता आएको जानकारले नै बताउन थालेका छन्। काठमाडौं प्रहरी रायमाझीलाई खोज्दै मंगलबार सातदोबाटोस्थित उनको घरमा छापा हान्न गएको थियो। जहाँ उनी फेला परेनन्। प्रहरीको उक्त छापाबारे पनि टीकाटिप्पणी हुन थालेको छ। पूर्वडिआइजी मल्ल भने प्रहरीको छापालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘प्रहरीले अनुसन्धानका क्रममा व्यक्ति खोज्न र प्रमाण खोज्न छापा मार्छ। त्यो जहिले पनि मार्न सक्छ। त्यसलाई स्वाभाविक रूपमा नै लिनुपर्छ।’ तर आलोचकहरूले व्यक्ति फरार भएको साता दिन बितेपछि घरमा छापा मार्दा त्यहाँ व्यक्ति र प्रमाण भेटिने आश गर्नु निरर्थक रहेको टिप्पणी गरिरहेका छन्। प्रहरीको यो छापा कर्मकाण्डी भएको धेरैको टिप्पणी छ।  

आरजुको आपत्ति

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएर आएको अडियोका आधारमा बनाइएका समाचारप्रति आपत्ति जनाएकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘फ्याक्ट चेक’ नै नगरी आफ्नो नाम जोडेर समाचार प्रकाशन÷प्रािरण गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन्। उनले भनिन्, ‘पत्रकारिताको आधारभूत सिद्धान्तअनुसार फेक अडियोलाई भेरिफिकेसनसमेत नगरी सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारण गर्नु नियोजित रूपमा बदनाम गराउने चाल हो। फेक अडियो बनाउनेलाई अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन मैले माग गरिसकेकी छु। सञ्चारमाध्यामलाई पनि पत्रकारिताको धर्म निभाएर समाचार लेख्न आग्रह गर्दछु।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा उठाएको विषय संवेदनशील भएकाले सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने उनले बताइन्। शरणार्थीको विषय अन्तर्राष्ट्रिय मुद्दा भएकाले यसमा एफबिईलगायतले पनि छानबिन गरिरहेको हुनसक्ने उनले बताइन्।

प्रकाशित: २७ वैशाख २०८० ००:३७ बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण रायमाझी भागे कि भगाइए ? पूर्वउपप्रधानमन्त्री रायमाझी नेकपा एमालेका सचिव पनि छन्। आरजुको आपत्ति