coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बोल्न नपाएको विरोधमा अर्धनग्न

प्रतिनिधिसभाको सोमबारको बैठकमा २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यसूची थियो। बैठकमा छलफल सुरु हुनुअघि सभामुख देवराज घिमिरेले शून्य समयको मात्र कार्यक्रम रहेको जानकारी गराउँदै थिए। बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल आकस्मिक समयमा बोल्न समय माग गर्दै उठिरहेका थिए। तर सभामुखले उनीहरूको कुनै कुरा नसुनेर सभामुख घिमिरेले शून्य समय सुरु गर्न लागेपछि स्वतन्त्र सांसद सिंहले पटकपटक बोल्ने अवसर दिन आग्रह गरे।  

सभामुखले आग्रह नसुनेपछि सांसद सिंहले आफूले लगाएको हाफ कोट, सर्ट र सेन्डो भेस्ट खोलेर टेबुलमा राखे। त्यसरी उनले अर्धनग्न भएर विरोध जनाएपछि सभामुखले उनलाई उल्टै चेतावनी दिन थाले। सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न आग्रह गर्दै त्यसो नगरे कारबाही गर्ने चेतावनी दिए। संसद्मा सांसदले कुनै महत्वपूर्ण विषयमा बोल्न आग्रह गर्दा सभामुखले बोल्न दिनुपर्ने भन्ने मान्यता छ। सांसदले आफ्नो महत्वपूर्ण कुरा छ भन्दै हात उठाएपछि सभामुखले के विषयमा बोल्दै हुनुहुन्छ भन्नेसम्मको कुरा पनि नसोधरेर उल्टै चेतावनी दिनु सभामुखले संसदीय व्यवस्था नबुझेको विश्लेषण गरिएको छ।

सदनमा जनताका आवाज सांसदले उठाउने हुँदा सभामुखले हस्तक्षेप गर्न नमिल्ने र संसद्मा सबै सांसदको हैसियत एउटै हुनुपर्ने विज्ञहरू बताउँछन्। तर सांसदहरूको आवाजलाई व्यवस्थापन नै नगरी अर्थात् कुनै दिनमा बोल्न सकिनेछ वा यो दिनमा बोल्न दिन्छु सम्म पनि नभनी संसद्का कर्मचारीको कुरा सुनेर उल्टै धम्क्याउने काम गरेको आरोप सभामुख घिमिरेमाथि लागेको छ। त्यसैमा डा. सिंहले बोल्न समय माग्दा एमालेका सांसदहरू आआफ्नो स्थानबाट उठेर विरोध गर्नु र एमालेकै एक सांसद अच्यूत मैनालीले डा. सिंहको स्वास्थ्य जाँच गर्नुपर्ने धारणासमेत राख्नुले एमालेसँग जोडिएको कुनै विषयमा डा. सिंहले संसद्मा भनाइ राख्न खोजेको स्पष्ट भएको एक सांसदले बताए। सांसद मैनालीले ‘संसद्मा जे गतिविधि देखिएको छ, म माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दै छु’ भन्ने अभिव्यक्ति दिएका थिए। संसद्मा सांसदले बोल्न नपाएर माइक भाँचेको, टेबुल गुल्टाएको इतिहास छ। तर एउटा सांसदले गरेको क्रियाकलापमा अर्को सांसदले नकारात्मक टिप्पणी गरिएको इतिहास भेटिँदैन। तर सोमबारको बैठकमा एमालेले किन विरोध गरेको थियो भन्ने कुरा अर्थपूर्ण रहेको विज्ञहरू बताउँछन्। संविधानसभाको हैसियतमा बसेको व्यवस्थापिका संसद्को बैठकमा तत्कालीन दलित जनजाति पार्टीका सांसद विश्वेन्द्र पासवानले सभाध्यक्ष सुवास नेम्वाङले बोल्न नदिएको भन्दै सांसद बसेको टेबुल नै गुल्टाएका थिए भने तत्कालीन मधेसी जनअधिकार फोरमका तत्कालीन सांसद सञ्जयकुमार शाह ‘टक्ला’ले पनि सभाध्यक्ष सुवास नेम्वाङले बोल्न समय नदिएको भन्दै सांसद बस्ने कुर्सी अघि राखिएको माइक नै भाँचिदिएका थिए। उनलाई माइक भाँचेबापत ९० हजार रूपैयाँ क्षतिपूर्ति भराइएको थियो।

सभामुख घिमिरेले सिंहले कपडा खोलेपछि प्रतिनिधिसभाको नियमावलीको नियम ३० बमोजिम कारबाही गर्ने चेतावनी दिएका थिए। सो नियममा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ। उनलाई बैठकबाट निष्कासन गर्न सक्ने चेतावनी दिएपछि उनले आफ्ना कपडा पुनः लगाउन खोजिरहेका थिएनन्। त्यसपछि पनि सभामुखले नियम २० को खण्ड (झ) बमोजिम कारबाहीको चेतावनी दिए। सो खण्डमा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ।  

सभामुखले नियम २१ को खण्ड (घ) बमोजिम पनि ध्यानाकर्षण गराएका थिए। सो खण्डमा (घ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने उल्लेख छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप बोल्न सभामुखसँग आग्रह गरेको तर नदिइएको डा. सिंहले पछि सञ्चारकर्मीलाई बताएका थिए। जनताको आवाज उठाउन नदिइएपछि अरू विकल्प नभएकाले उनले लगाएको वस्त्र फुकालेको पनि उनले सञ्चारकर्मीलाई बताए।

प्रकाशित: २६ वैशाख २०८० ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App