coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए दाङका ६० जना

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने धन्दामा लागेको गिरोहलाई कारबाहीको माग गर्दै सडकमा युवा। फाइल तस्बिर

घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका रूपमा अमेरिका जान चाहेकाले मेसो मिलाइदिन आग्रह गरिन्। उनको प्रस्ताव पारित भयो। दुई दिदीबहिनी सँगै अमेरिका जाने निर्णयमा पुगे।

सविनाका अनुसार तुलसीपुरका गजेन्द्र बुढाथोकीमार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरूलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फाराम भर्न काठमाडौं बोलाइयो। उनीहरूले फाराम भरे, ५-५ लाख रूपैयाँ पनि बुढाथोकीको हातमा थमाइदिए। सविनाले भनिन्, ‘फाराम भर्नुपर्छ भनेर भर्न लगाए।’ उनीहरूलाई सहजै अमरिका पुर्याउने भन्दै बिचौलियाको भूमिका खेलेका व्यक्ति हुन् बुढाथोकी। ‘अमेरिका जाने तयारीमा रहेकी दिदीलाई मैले मलाई पनि लैजान भनिदिनुस् भनेर अनुरोध गरें,’ सविनाले भनिन्, ‘दिदीले कुरा गरिदिनुभएछ। अनि मलाई पनि दिदीसँगै अमेरिका जाने तयारी गर्न भनियो, काठमाडौं गएर फाराम भर्न भनियोे, फाराम भरेपछि ५÷५ लाख रूपैयाँ हामीले बुझायौं।’

तीन महिनापछि २०७८ असार दोस्रो सातातिर उनीहरूलाई चितवनमा बोलाइयो। त्यो बेला अन्तर्वार्ता भन्दै बोलाइएको थियो। लकडाउनका बेला भएकाले बुढाथोकीले गाडीको पास बनाइदिए। चितवन पुगेका उनीहरूलाई चितवनको एक होटेलमा राखियो। ‘राति १२ बजेतिर चितवनको एक होटेलमा लगियो, अन्तर्वार्ता छ भनेर हामीलाई रातारात बोलाइएको थियो,’ उनले भनिन्, ‘सरकारी कर्मचारीको ड्रेस लगाएका मान्छे थिए, उनीहरूले पनि हामीलाई भुटानी शरणार्थी बनेर सजिलै अमेरिका जान सकिने बताए।’ त्यो होटेल रामबहादुर थापाले सञ्चालन गरेको भनिएको थियो। त्यो बेला उनीहरूले फेरि १०-१० लाख रूपैयाँ बुझाए।  

सविनाका अनुसार तुलसीपुरका गजेन्द्र बुढाथोकीमार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरूलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फाराम भर्न काठमाडौं बोलाइयो। उनीहरूले फाराम भरे, ५-५ लाख रूपैयाँ पनि बुढाथोकीको हातमा थमाइदिए।

उनीहरू चितवनबाट घर फर्किए। फेरि सोही वर्षको कात्तिकमा उनीहरूलाई विराटनगर बोलाइयो। उनीहरूलाई त्यतिखेर भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले लिन भन्दै विराटनगर बोलाइएको थियो। विराटनगर बोलाउनेले भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले मेडिकल जाँच गर्न लगाए। सविनाले त्यो बेला आफूले फेरि ३० लाख रूपैयाँ बुझाएको बताइन्। ‘सबै गरेर मैले ४५ लाख रूपैयाँ बुझाएँ, विराटनगरमा मेडिकल जाँच गरेपछि हामीलाई घर फर्कन भनियो र दुईचार दिनमै अमेरिका उड्ने भनियो।’ तर सविना दिदीबहिनीको अमेरिका उडान भएन। भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग जोडिएका बुढाथोकी फरार भए। ‘आज होला भन्यो भएन, भोलि होला भन्यो भएन, हामीलाई अमेरिका पठाइदिने भनेका मान्छे (गजेन्द्र बुढाथोकी) सम्पर्कविहीन भए,’ सविनाले भनिन्, ‘बुझाएको ४५ लाख रूपैयाँ पनि फिर्ता भएको छैन।’ उनकी दिदीले भने ३५ लाख रूपैयाँ बुझाएकी रहिछन्। सविना दिदीबहिनीसहित ६० जना दङालीको लाखौं रकम भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दा गर्ने गिरोहले लियो।  

तुलसीपुरका समीर केसी (नाम परिवर्तन) ले पनि भुटानी शरणार्थी बनेर अमेरिका जाने प्रलोभनमा २० लाख रूपैयाँ डुबाएका छन्। बुढाथोकी अमेरिकी ग्रिनकार्ड होल्डर भएको र उनले सहजै अमेरिका पुर्याइदिने आशामा समीरले पैसा बुझाएका थिए। ‘गजेन्द्र बुढाथोकी अमेरिकाको ग्रिनकार्ड होल्डर भएकाले उनले सजिलै अमेरिका पुर्याउँछन् भन्ने लागेर पैसा बुझाएको थिएँ,’ केसीले भने, ‘तर ठगको फेला परिएछ, २० लाख रूपैयाँ डुब्यो।’ उनलाई पनि सबिनालाई जस्तै फाराम भर्न भनेर काठमाडौं, अन्तर्वार्ता भनेर चितवन र परिचयपत्र लिन र मेडिकल जाँच भनेर विराटनगर बोलाइएको थियो। केसीका अनुसार चितवनमा उनलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो।  

शरणार्थी बनाएर अमेरिका पुर्याइदिने भन्दै दङालीलाई फाराम भर्न काठमाडौं, अन्तर्वार्ता र प्रशिक्षणका लागि चितवन तथा परिचयपत्र लिन र मेडिकल जाँच गर्न भनेर विराटनगर बोलाइएको थियो । पीडितका अनुसार चितवनमा उनीहरूलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो ।  

‘होटेलको नाम थाहा भएन, किनकि हामी राति १२ बजेतिर पुगेका थियौं, होटेलको नाम हेरिएन,’केसीले भने, ‘तर त्यो होटेल रामबहादुर थापा बादलका छोराको हो भनेर त्यहाँ कुरा गरेको सुनेको थिएँ।’ उनका अनुसार त्यसबेला होटेलमा एउटा सरकारी गाडीसमेत थियो। ‘त्यहाँ धेरै गाडी थिए तर एउटाचाहिँ गृह मन्त्रालयको हो भन्ने सुनेका थियौं,’ उनले भने, ‘त्यहाँ हाम्रो अन्तर्वार्ता लिन भनेर आएका सबै मान्छे सरकारी पोसाकमै थिए।’ उनीहरूले परिचय दिँदा आफूहरू गृह मन्त्रालयको प्रतिनिधिका रूपमा प्रशिक्षण र अन्तर्वार्ताका लागि आएको पनि बताएका थिए। ‘उनीहरूले हामी गृह मन्त्रालयबाट प्रतिनिधि बनेर तपाईंहरूको अन्तर्वार्ता लिन आएका हौं भनेका थिए,’ केसीले भने, ‘एकजनाले टोलीको संयोजक हुँ भनेका थिए।’ उक्त टोलीमा दाङकै सन्देश शर्मा, आकाश रेग्मी पनि रहेको केसीले बताए।

‘दाङकै भएकाले सन्देश शर्मा र आकाश रेग्मीेलाई चिनें,’ उनले भने, ‘अहिले सन्देश भन्ने व्यक्ति यही ठगी काण्डमा पक्राउ परेको भन्ने सुनेको छु।’ गृह मन्त्रालयकै प्रतिनिधिहरू भनिएकाले सहजै अमेरिका पुग्न सकिने आशा लागेको केसीले बताए। ‘सुरुमा त हामीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्ने थाहा थिएन,’ केसीले भने, ‘जब चितवनमा गृह मन्त्रालयका प्रतिनिधि हौं भन्नेले हामीलाई प्रशिक्षण दिए, अन्तर्वार्ता लिए अनि मात्रै थाहा भयो कि हामीलाई भुटानी शरणार्थी बनाएर लैजान थालिएको रहेछ भन्ने।’ उनीहरूले भुटानी शरणार्थी बनेर अमेरिका लागेको कसैलाई नभन्न अह्राएका थिए।  

भुटानी शरणार्थीको परिचयपत्र लिन भनेर विराटनगर बोलाए पनि नदिएको केसीले बताए। ‘विराटनगर पुगेको तपाईंहरूको परिचयपत्र शरणार्थी शिविरमा छ भनियो। हामी शिविरमा जान्छौं भन्दा उनीहरूले मानेनन्,’ केसीले भने, ‘शिविरमा गएपछि हल्ला हुन्छ, समस्या हुन्छ भने। हामीलाई विराटनगरको विराट मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गराएर फर्काइयो।’ उनीहरूले त्यसबेला आफूहरूलाई दुई तिन दिनमै उड्ने भन्दै तयारी अवस्थामा रहन भनेका थिए। तर महिनांै बिते, शरणार्थी बनेर अमेरिका उड्ने उनीहरूको सपना विपना भएन। अमेरिका उडाइदिने भनेर रकम असुलेका बुढाथोकी पनि सम्पर्कविहीन भए। अर्का पीडित तुलसीपुरकै रञ्जित बुढा (नाम परिवर्तन) ले भने, ‘सुरुसुरुमा त पैसा फिर्ता माग्दा दिन्छु पनि भनेका थिए, पछि सम्पर्कमै आएनन्।’ बुढाथोकी २०७८ चैतपछि सम्पर्कविहीन भएको पीडितको गुनासो छ। ‘२०७८ चैतसम्म हाम्रो सम्पर्कमा थिए, पैसा फिर्ताका लागि पहल गर्दिन्छु पनि भनिरहेकै थिए,’ रञ्जितले भने, ‘चैतपछि त उनी सम्पर्कविहीन भए।’

उनले पनि अमेरिका जाने भनेर काठमाडौं र चितवन पुगेर २० लाख रूपैयाँ बुझाएका थिए। यो गिरोहले दाङका ६० जनाबाट प्रतिव्यक्ति २० लाख रूपैयाँभन्दा बढी लिएको पीडित बताउँछन्। चेकबाट दिन खोज्दा उनीहरूले नगद नै मागेका थिए। ‘हामीले चेक दिन्छौं भन्दा उनीहरूले मानेनन्,’पीडित रञ्जित बुढा भन्छन्, ‘क्यास कारोबार मात्रै गर्छौं भनेर सबैबाट नगद बुझेका थिए।’ उनले पनि चितवनमा आफूहरूलाई राखेर प्रशिक्षण दिएको होटेल रामबहादुर थापाका छोराको भनिएको बताए। 

‘बादलका छोराको होटेल हो भनेर त्यहाँ कुरा गर्थे,’ उनले भने, ‘गृह मन्त्रालयको टोली हौं भन्ने पनि त्यहाँ थिए।’ राति नै अन्तर्वार्ता लिने र प्रशिक्षण दिइयो। प्रशिक्षण दिने र अन्तर्वार्ता लिने मुख्य व्यक्तिले आफूलाई गृह मन्त्रालयले संयोजकका रूपमा खटाएको बताएका थिए। ‘बुढ्यौली उमेरका ती व्यक्ति सरकारी ड्रेसमै थिए, परिचयपत्र घाँटीमा झुन्ड्याएका थिए तर परिचयपत्रमा नाम हेरिएन,’ उनले भने।अमेरिका जाने भनेर सुरुमा दाङका ६० जना गिरोहको सम्पर्कमा पुगेका थिए। त्यसपछि पनि दाङका १०÷१५ जना गिरोहको सम्पर्कमा पुगेको देखिन्छ। ‘हाम्रो समूह सुरुमा ६० जनाको थियो,’ रञ्जित बुढाले भने, ‘तर पछि दाङकै १०÷१५ जना गिरोहको सम्पर्कमा पुगेका थिए।’ भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याइदिने गिरोहको चंगुलमा फसेका पीडितले २०७९ पुसमा बुढाथोकीविरुद्ध किटानी जाहेरी दिएपछि यो प्रकरण बाहिर आएको हो।

प्रकाशित: २५ वैशाख २०८० ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App