coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अयोग्य लडाकुलाई दुई लाख बाड्ने सरकारको निर्णय तत्काल खारेज गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।

उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्विकार्य नहुने बताए। सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो।

उनले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गराउन सरकार नलागेको आरोप समेत लगाए।

प्रमुख सचेतक गिरीेले भने, ‘सम्माननीय सभामुख महोदय, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीमाथि कार्यकर्ता भेलामा जाने क्रममा त्यहाँ केही अवाञ्छित गतिविधि भएका छन। पार्टी अध्यक्षमाथि लक्षित गरी ढुंगामुडा गरिएको छ। शान्ति भंग गर्ने प्रयास गरिएको छ। प्रहरी इन्स्पेक्टरको टाउको फुटाइएको छ। र, १७ वटा टाँका लगाइएको छ। प्रहरी हवल्दार मरसन्न अवस्थामा छन। यस्तो अवाञ्छित गतिविधि गर्नेहरुलाई अहिले प्रहरीले हिरासतमा लिएको त सुनिएको छ। तर, त्यहाँ सत्तापक्षका मानिसहरुको दवावमा छोडने काम हुँदैछ भन्ने पनि सुनिएको छ। यस्तो गलत काम गर्ने काममा सरकार उद्दत नहोस् भन्ने पनि प्रमुख प्रतिपक्ष दलको तर्फबाट म सचेत गराउन चाहन्छु। र, यो घटनाको घोर निन्दा र भत्सर्ना पनि गर्न चाहन्छौं। सभामुख महोदय देशको अर्थतन्त्र संकटग्रस्त छ। भयावह अवस्थामा छ। हामी सबैलाई थाहा छ सभामुख महोदय। आज राज्यकोषमा रकम नभएको भन्दै ८० अर्व भन्दा बढि विभिन्न आयोजनाहरुलाई दायित्व भूक्तानी दिनुपर्ने अवस्था छ। १५ अर्व शिक्षक र कर्मचारीहरुलाई पेन्सन दिन दायित्व भुक्तानी बाँकि छ। ५ अर्व वृद्धवृद्धाहरुलाई अहिले सामाजिक सुरक्षा भत्ता दिन सरकारले बाँकि नै छ। ५ अर्ब भन्दा बढि विमा र विपन्न कार्यक्रम अन्तरगत राज्यले दायित्व भुक्तानी गर्नुपर्नेछ। जसका कारणले विमितहरुले उपचार नगर्न नपाईरहेको अवस्था छ। २० अर्ब राज्यले तिर्नुपर्ने साँवा र ब्याँज तिर्न नसकेको अवस्था छ। यस्तो दूरावस्था छ, सभामुख महोदय। र, अहिले अनिवार्य दायित्व १ खर्ब २० अर्ब भन्दा बढि छ यस्तो भयानक स्थित हाम्रो अगाडि छ सभामुख महोदय। अहिले सुन्दैछु, हामी सुन्दैछौं–हिजो मात्रै क्याविनेटबाट एउटा निर्णय भएको छ।’

प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा प्रहार गर्ने कोशिस गरिएको भन्दै निन्दा र भत्सर्ना गरे।  

प्रकाशित: १५ वैशाख २०८० ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App