७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो गर्नुपर्छः माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताएका छन्।

शुक्रबार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा दलहरुका बीचमा आलोपालो हुने बताएका हुन्। उनले प्रदेश सरकारहरु धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए। जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरुका बीचमा बाँडफाँट हुने उनको भनाइ छ। कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माण्मा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने उनले बताए।

उनले भने, ‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन। यो संसारमा कहीँ सम्भव छ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो? अरुलाई बडो उपदेश दिने मान्छेहरु। जब जनताले नै भने कि तपाईहरु मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरी गर्छन् के? किनकी त्यो पार्टीसँग पनि कार्यकर्ता हुन्छन्। जनमत पनि हुन्छ। त्यसो हुनाले अरु पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ। नीतिमा मिल्नुपर्छ। नीति र कार्यक्रम मिल्नुप¥यो। त्यसपछि पार्टीको सन्तुलनलाई पनि ध्यानमा राख्नुप¥यो। त्यसकारण हाम्रो पार्टी प्रदेश सरकारहरुमा सहभागि हुनेछ। कसरी हुन्छ? कतिजना हुन्छ? भन्ने कुराहरु बसेर छलफल भइसकेपछि टुंगो लाग्नेछ। एउटै पार्टीको बहुमत नभएको हुनाले अरु पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखेर अरुले पनि दाबी गर्ने स्थितिमा गठबन्धनका अरु घटकले पनि मौका पाउनेछन्। यसमा को–को सहभागि हुने हुन् अझै स्पष्ट छैन।’

अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरुका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए। उनले नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताए। उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरुसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए।

उनले भने, ‘समाजवाद बाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन। समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो। त्यसमा प्रतिवद्ध भएको पार्टीहरुको बीचमा हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ। यसको निम्ति नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई एकतावद्ध गर्नुको साथसाथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ। अरु पार्टीहरुसँग पनि हामी कुरा गर्न गइरहेका छौँ। यो समाजवादी मोर्चा बनेको खण्डमा एकातर्फ समाजवादप्रतिको हाम्रो प्रतिवद्धतालाई र राज्यमा सुशासनको प्रत्याभुति गर्ने कुरालाई, जनताको पीर मर्कालाई सम्बोधन गर्ने कुरालाई त्यसले केन्द्रबिन्दुमा राख्नेछ। साझा विषयमा सहकार्य गर्न हामी सबैसँग हातेमालो गर्नेछौँ। विचार, सिद्धान्त, नीति मिलेका पार्टीहरुका बिचमा पार्टी एकताको पहल गर्नेछौँ।’

प्रकाशित: १५ वैशाख २०८० ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App