१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

लामिछानेको लोकप्रियता बढ्योः चितवन २ मा कांग्रेस–एमाले पहिलाभन्दा खुम्चिए

प्रतिनिधिसभा सदस्यका लागि चितवन २ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए। अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो। चितवन २ का इच्छाकामना गाउँपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र कालिका नगरपालिकाबाट लामिछानेले मंसिरमाभन्दा बढी मत पाए। तर उनका प्रतिस्पर्धी मानिएका एमाले र कांग्रेस पहिलाभन्दा झन् खुम्चिए।

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए। उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन्। यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई लामिछानेले ४२ हजार ९ सय ६२ मतान्तरले पछाडि पारेका छन्। श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याए।  

अन्य दलले लामिछानेको मत घट्ने अनुमान गरेका थिए। तर रास्वपाले भने बढ्ने अनुमान गरेको थियो। ६० हजारको हाराहारीमा मत ल्याउने लक्ष्य रहेको रास्वपाका जिल्ला सभापति कृष्ण भुसालले चुनावअघि नागरिकलाई बताएका थिए।  

कांग्रेस–एमालेको मत पहिलाभन्दा घटेको छ। दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन्। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलेभन्दा अहिले जितनारायण श्रेष्ठले ३ हजार ७ सय ७४ कम मत पाए। मंसिरको निर्वाचनमा श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए। अहिले जितनारायणले ११ हजार २ सय १४ मत मात्र पाए।  

कांग्रेसको मात्र होइन, एमालेको मत पनि उस्तै घटेको छ। अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए। तर अहिले एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पोख्रेलले भन्दा ३ हजार ७ सय ८६ मत कम पाए। उपनिर्वाचनमा तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार न्यौपानेले १० हजार ९ सय ३६ प्राप्त गरेका छन्। चितवन २ मा ७८ हजार ६ सय ३४ मत खसेकोमा ७८ हजार ४ सय ६६ सदर भएको छ।

चितवन २ मा भरतपुरका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन्। यहाँ २८ वटा वडा छन्।  

२८ वडामध्ये लामिछानेले २५ वटा वडामा कांग्रेस–एमालेका उम्मेदवारले भन्दा निकै बढी मत पाए। उनले ३ वटा वडामा मात्र कांग्रेस र एमालेका उम्मेदवारले भन्दा कम मत पाएका छन्। ती वडामा पनि अघिल्लो निर्वाचनमा भन्दा बढी मत लामिछानेले ल्याएका छन्। लामिछानेले इच्छाकामनाको २ नम्बर वडा, कालिकाको १० र ११ नम्बर वडामा कम मत पाएका हुन्। यी क्षेत्र दुर्गममा पर्दछन्। सहरी क्षेत्रका वडामा लामिछानेकै मत बढी छ। एमाले उम्मेदवारले इच्छाकामना गाउँपालिकाको २ र कालिकाको ११ नम्बर वडामा बढी मत पाएका छन्। कांग्रेसका उम्मेदवारले कालिकाको १० नम्बर वडामा मात्र बढी मत पाए।  

इच्छाकामना गाउँपालिकामा मंसिर ४ को आमनिर्वाचनमा लामिछाने तेस्रो स्थानमा थिए। त्यतिखेर २ हजार ९ सय ७५ मत ल्याएका लामिछाने अहिले ४ हजार ३ सय ५८ मत पाए। मंसिरमा भन्दा उनले १ हजार ३ सय ८३ मत बढी पाए। छोटो अवधिमा रास्वपाले काम गरेर जनताको मत जितेको लामिछाने अथ्र्याउँछन्। ‘दुर्गम गाउँ इच्छाकामनाबाट काम गर्छौं भनेका थियौं। छोटो अवधिमा हामीले त्यहाँ केही काम पनि गरेका थियौं। त्यहाँका मतदाताले बुझ्नुभएजस्तो लाग्यो,’ उनले भने।  

इच्छाकामना गाउँपालिकामा यसअघि एमालेको अग्रता थियो। तर यसपटक उसलाई १ हजार ३८ मत घाटा लागेको छ। अघिल्लो निर्वाचनमा ३ हजार ६ सय २३ मत ल्याएको एमाले अहिले २ हजार ५ सय ८५ मा खुम्चियो। त्यस्तै कांग्रेसको मत पनि सोही रूपमा घटेको छ। कांग्रेसले ५ महिनामा १ हजार ११ मत गुमाएको छ। इच्छाकामनामा अघिल्लो निर्वाचनमा ३ हजार २ सय १६ मत पाएको कांग्रेसले उपनिर्वाचनमा २ हजार २ सय ५ मत मात्र पायो। इच्छाकामना गाउँपालिकामा मात्र होइन, कांग्रेस र एमालेले सहरी क्षेत्रमा पनि मत गुमाएका छन्। भरतपुर महानगरपालिकामा विगतमा भन्दा १ हजार ५ सयको हाराहारीमा दुवै दलले मत गुमाएका छन्। तर लामिछानेले भने मत बढाएका छन्। भरतपुर महानगरपालिकाका १० वटा वडामा उनले १ हजार ८ सय ८४ मत बढी प्राप्त गरे। मंसिरमा यी १० वडाबाट ३३ हजार ८ सय २७ मत ल्याएका लामिछानेले उपनिर्वाचनमा ३५ हजार ७ सय ११ मत ल्याए। कांग्रेस र एमालेका उम्मेदवारले यी वडामा निकै कम प्राप्त गरे। पहिला भरतपुरका वडाबाट ६ हजार १ सय ६२ मत पाएको एमालेले अहिले ४ हजार ६ सय ८२ मात्र पाएको छ। उसले यी वडामा १ हजार ४ सय ८० मत गुमाएको छ। यहाँ एमालेले मात्रै होइन, कांग्रेसले झन् बढी मत गुमाएको छ। बजार क्षेत्रमा कांग्रेसले मंसिरमा भन्दा १ हजार ९ सय १० मत गुमाएको छ। अघिल्लो निर्वाचनमा ७ हजार १ सय ६३ मत ल्याएको कांग्रेस उपनिर्वाचनमा ५ हजार २ सय ५३ मतमा खुम्चन पुग्यो।  

कालिका नगरपालिकामा पनि रास्वपाले आफूलाई सुधार गरेको छ। मंसिरमा १२ हजार ४ सय ९५ मत ल्याएको रास्वपाले अहिले १२ हजार ८ सय ५१ पाएको छ। कांग्रेस र एमाले भने घट्दो अवस्थामा छन्। कालिकामा कांग्रेसले ९ सय ५१ मत गुमाएको छ। यहाँ पहिला ४ हजार ७ सय ८ मत ल्याएको कांग्रेस अहिले ३ हजार ७ सय ५७ मतमा खुम्चिएको छ। एमालेले कालिकामा विगतभन्दा १ हजार ९९ मत गुमाएको छ। अघिल्लो निर्वाचनमा ४ हजार ७ सय ६७ ल्याएको एमालेले अहिले ३ हजार ६ सय ६८ मात्र मत पाएको छ।  

उपनिर्वाचनको परिणामबाट सिंगो देश परिवर्तनको पक्षमा देखिएको लामिछानेले बताएका छन्। उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए। ‘जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफू चुनावी मैदानमा आउनुप¥यो,’ उनले भने, ‘चितवनका जनताले दिएको मत परिवर्तनको संकेत हो।’ उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए। सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उनले आश्वासन दिए।

प्रकाशित: १३ वैशाख २०८० ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App