१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्तामा बलियो गठबन्धन बनाउन नेकपा ब्युँताउने प्रयास

एमाले र माओवादी मिलेर बनेको नेकपा असफल भए पनि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव नेपाल नेकपा ब्युताउँने प्रयासमा रहेका छन्।

संसद्मा नेकपा माओवादी र नेकपा एस मिल्दा ४४ सिट हुने जुनसुकै बेला सरकार बनाउन महतवपूर्ण भूमिका हुने भएकाले नेकपा ब्युँताउन खोजिएको हो। दुई पार्टीको एकीकरण मात्रै होइन, अहिले रहेका साना-ठूला वामपन्थी दलहरूसमेत मिलाउने उनीहरूको प्रयास रहेको छ। उनीहरूले सुरुमा समाजवादी केन्द्र बनाउने र त्यसमा बाबुराम भट्टराई समूह र जनता समाजवादी पार्टीलाई पनि मिलाउने र संसद्मा ५४ सिट बनाउने तयारी पनि रहेको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एस तथा जसपा मिलाउँदा ५४ सिट हुने भएपछि उपनिर्वाचनपछिलगत्तै यसले मूर्तरूप दिने स्रोतको दाबी छ। अहिले सरकारमा सबैभन्दा ठूलो दल कांग्रेस रहेको छ। कांग्रेसको ८९ सिट भए पनि सरकारको नेतृत्व भने माओवादीले गरिरहेको छ।  

यही क्रममा प्रधानमन्त्रीसमेत रहेका दाहालले आइतबार नेकपा पुनर्जीवित गराउन लागिपर्ने बताएका थिए। बाबुराम भट्टराईले समाजवादी मोर्चा बनाउनुपर्छ भनेर लागिरहेका बेला दाहालले नेकपा ब्युँताउने बताएका हुन्।

भट्टराईले माओवादी र नेकपा एससँग समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेपछि आइतबार दिउसो दाहाल र नेपालले नेकपा ब्युँताउने बताएका हुन्। यसअघि राष्ट्रपतिको निर्वाचनको बेला नेकपा एसका अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट हुँदा उनले नेकपा ब्युउँताउनुपर्ने प्रस्ताव गर्दा ओलीले मानेका थिएनन्।

यतिबेला उनीहरू ओलीलाई समेत मनाएर नेकपा ब्युँताउने प्रयास गर्ने बताए पनि एमाले अध्यक्ष त्यसमा सहमत हुने सम्भावना निकै कम रहेको छ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन: उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री दाहालले नेपाली जनता र राष्ट्रको आवश्यकता सम्बोधन गर्न सकिने बताउँदै नेकपा ब्युाताउँने विषयमा छलफल चलिरहेको बताए।

प्रधानमन्त्री दाहालले नेकपालाई पुनस्र्थापित गर्न विनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यकता बताउँदै नेकपा एमालेलाई पनि त्यसका सहभागी हुनुपर्ने संकेत गरेका थिए। ‘कम्युनिस्ट आन्दोलन, वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्ने आवश्यकता र जिम्मेवारी पूरा भयो भन्ने होइन,फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टहरूलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु रहनुपर्छ’, दाहालले भने।

उनले अहिले यो प्रकृया अघि बढेको खुलसा समेत गरे। ‘कम्युनिष्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरू अहिले पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा छैनन् हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौँ,’ दाहालले भनेका थिए। उनले माधव नेपाल र आफूले यो विषयमा छलफल गरिरहेको समेत खुलसा गरेका थिए। ‘अहिले कमरेड माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल भइरहेको छ, हामी नेकपातिर फर्कनु पर्दछ, कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई चावी हो भन्ने गरिन्छ, नेतृत्वले गलत विचार र प्रवृत्ति अंगिकार ग¥यो भने धेरै ठूलो क्षति हुन्छ ठूलो प्रतिक्रान्ति हुन्छ,’ उनले भने।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र क्रान्ति आफ्नै आँखाअगाडि पनि देखेको बताउँदै उनले ०७४ को निर्वाचन एउटा ठूलो अग्रगामी कदम भएको त्यसको प्रस्ताव पनि आफैंले राखेको बताएका थिए। देश र जनताले अहिले कम्युनिस्ट एकता खोजेको पनि उनले बताए। ‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकताका लागि कम्युनिस्टहरू एक हुन जरुरी छ। जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकता सम्बोधन गर्न पनि कम्युनिस्ट एक हुन जरुरी छ,’ दाहालले भने।

सोही कार्यक्रममा नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि र विस्तारै नेकपालाई पुर्नजिवित बनाउने बताएका थिए।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा माओवादी केन्द्रका दाहालले पनि पहल गरिरहेको बताउँदै यो क्रम चाँडै नै टुंगिने बताएका थिए।

‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच एउटै पार्टी हुने दाबीसमेत गरेका थिए।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्या समाधान गर्नका लागि कम्युनिस्ट शक्तिको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिस्टलाई एकताबद्ध हुन पनि आग्रह गरेका थिए। सो कार्यक्रममा अध्यक्ष नेपालले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न आग्रह गरेका थिए।

‘आज पनि कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ। यो राम्रो पक्ष हो कि नराम्रो पक्ष हो?,’ उनले प्रश्न गरेका थिए। जनताले कम्युनिस्ट पार्टीलाई पत्याएको, विश्वास गरेको भन्दै नेपालले त्यही पत्याएका कारणले आफूहरूले पटकपटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका बताएका थिए। ‘मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूलाई अनुशरण गरेर अघि बढनुपर्ने प्रण गर्नुपर्नेछ,’ उनले भने। अध्यक्ष नेपालले २०७४ सालको चुनावमा जनताले आफूहरूलाई अवसर दिएको भन्दै त्यो अवसरलाई वास्तवमा सदुपयोग गर्न सकेको भए सबै एकै ठाउँमा गोलबन्ध हुने बताएका थिए।

‘ठूलो भनिएका तत्कालीन नेकपा एमाले, त्यसपछि नेकपा (माओवादी केन्द्र) यी दुईवटै पार्टी एकताबद्ध भइसकेको थियो। दुईवटै पार्टी एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भइसकेको थियो। त्यो पार्टी अगाडि बढिरहेको थियो। माओवादी केन्द्रसहितको नेकपालाई जनताले झण्डै दुई तिहाई मत दिएका थिए। त्यो अवसरलाई प्रयोग गर्न सकेको भए, सदूपयोग गर्न सकेको भए, सबैको सामूहिक बुद्धि, ज्ञान, क्षमतालाई राम्ररी परिचालित गर्न सकेको भए कम्युनिस्ट पार्टीले कहिल्यै पनि दोस्रो बन्ने अवस्था आउने थिएन,’ अध्यक्ष नेपालले भने। तर उनले अहिले नै आफूहरूले हरेस नखाएको बताउँदै नेकपा ब्युँताउन पहल गर्ने समेत बताए।

प्रकाशित: ११ वैशाख २०८० ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App