२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशमा संकट विद्यमान छ, कुन बेला के हुन्छ थाहा छैनः महासचिव चन्द

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन्।

राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्। उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे।

उनले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको बताए। अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको उनको भनाइ छ। उनले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताए। उनले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए। महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए। नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको उनको भनाइ छ।

उनले भने, ‘आज सरल ढंगले हाम्रो छलफल हुने गरेको छ, नेपालको राज्य प्रणाली जहाँनेर गएर अफ्ठ्यारोमा परेको छ, अहिले संकटमा परेको छ। त्यो बारेमा छलफल सहज भएको छ। अहिले हामीलाई मान्छेले भनेबापत आपत्ति जनाउँदैनन्। मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन। मन्त्रालय फालाफाल छन्। कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन। प्रधानमन्त्रीले १६ वटा मन्त्रालय हेर्ने समय पनि थियो। एक,दुई दिन हो तर लामो समयसम्म भनेको त के हो? आज भोलि यो सरकार पनि कति महिना? कति दिन भन्ने चर्चा छ। घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन्। संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ। हतार भएका साथीहरु दौरा सुरुवाल अर्को ढंगले सिलाउनुपर्ने भइसकेको छ, हामी त्यो देख्छौँ। अर्को केही तयारीमा लाग्नुभएको छ। यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ। १५ वर्ष झगडामा बिताएर जनतालाई दोष दिन मिल्छ, राज्य त कुनै न कुनै हिसावले चल्यो नि त। पञ्चायतको भन्दा पनि तल पुगेको छाँै। नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीतिमा तानाशाही किसिमले निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन। अहिले त नेपालको उत्पादनले तीन महिना पनि पुग्दैन। आफ्नो उत्पादन नै छैन, सबै आयात गरेर खानुपर्नेछ।’  

महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहबाट राज्य सञ्चालन हुनै नसक्ने बताए। 

प्रकाशित: ६ वैशाख २०८० ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App