१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोहोरमा थुप्रिएको ‘राजनीति

फाइल तस्वीर

नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था। सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका नेताजस्तै एकल निर्णयका साथ अगाडि बढ्न थालेपछि समस्याको चाङ झनै बढेको छ।

मेयरको निर्देशनसँग आइतबारबाट उठ्न छाडेको सिंहदरबारको फोहोरले अझै निकास पाउन सकेको छैन। बागदरबार र सिंहदरबारबीचको ‘वाक दोहोरी’सँगै फोहोरमा छुट्याउन नसकिने गरि राजनीति मिसिएको छ। मेयर साहले फोहो नउठाउनुका विभिन्न १४ कारणसहित सामाजिक सन्जालमा स्पष्टीकरण दिए पनि सरकार त्यसलाई मान्न तयार छैन। उसले फोहोरलाई अन्य समस्यासँग नमिलाउन आग्रह गरेको छ। मेयर साहले सुकुम्बासी समस्यादेखि सडक र ट्राफिक अवरोधसम्मका विभिन्न कुरा जोडेर सरकारले सहयोग नगरेको जिकिर गरेका छन्। सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहरमा देखोस् भनेर नै फोहर नउठाइएको उनले बताएका छन्।

तर सिंहदरबारको बुझाइ अर्कै छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास लगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्ति र निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो ।सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासँग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताइन्।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन्। ‘फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको छ,’ उनले भनिन्, ‘सो नीतिबाट काठमाडौं महानगर भाग्न मिल्दैन।’

तर माहानगरका मेयर १४ बुंदे लौरो बोकेर दौडिरहेका छन्। संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीलाई दिएको निर्देशन जारी राखेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक्तिपछि सामाजिक सन्जालमा उनको समर्थनमा आवाज देखिए पनि राजनीतिक दलका नेताहरूले उनको चर्को विरोध गरेका छन्।

मेयरको यो कडा स्टाटसको बारेमा माहानगरका उपमेयर सुनिता डंगोलले यो मेयरको व्यक्तिगत भावना भएको भन्दै महानगरको सामूहिक धारणा नभएको प्रष्ट पारेकी छिन्। ‘फेसबुकमा व्यक्तिगत एकाउन्टबाट लेखिएको कुरा उहाँको निजी विचार हो भन्ने बुझ्नुपर्छ,’ उनले भनिन्, ‘उहाँको व्यक्तिगत भावनाको बारेमा मैले केही बोल्न सक्दिन।’

उनले त्यति बेला महानगरको आन्तरिक तथा बोर्ड बैठकमा यो विषयमा छलफल नभएको बताइन्।

सहरी विकासमन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छिन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्।

तर मेयरको एकल निर्णय अहिले लागु छ। समस्यामा समाधानमा विभिन्न निकायबीच बुधबार पनि छलफल जारी छ। तर समाधानको बाटो अझै देखिएको छैन। पुतली बगैंचामा थुपारिएको फोहोरसँगै राजनीति धमिलिएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबारविरुद्ध खोलेको यो ‘फायर’ ले द्वन्द्व उत्कर्षमा पुराएको छ।  

प्रकाशित: ३० चैत्र २०७९ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App