नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’ को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’ को वर्षामात्रै गर्ने गरेको बताए।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको उल्लेख गरे।
बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरे। उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराए।
ओलीले भन्छन् ‘अहिलेको त खाली गरिवहरुका लागि मात्रै होइन कि हुनेहरुका लागि पनि तरलताको कमी, पैसा छैन, बैंकले दिन सक्दैन आदि खालका कुराहरुले देशलाई आर्थिक संकटतर्फ धकेल्दैछ। र, रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विभिन्न विज्ञहरुले भनिराखेका छन। विभिन्न पत्रपत्रिकामा छापिईराखेको छ। सरकार मात्रै ढुक्क छ। अरु कोही ढुक्क छैन। तर, मजाको कुरा के छ भने सरकार ढुक्क छ। भन्छ–अर्थतन्त्र राम्रो छ, केही हुँदैन। प्रधानमन्त्रीज्यू तपाईहरुको बीचमा पनि आएर बोल्नु भयो होला। ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ। केही पनि छैन। भन्नु पर्दा पनि उहाँले केही बाँकि राख्नु हुन्न। तारा झारदेउन भन्यो भने त्यो तारा मात्रै होइन, जून पनि झारि दिउला भन्नु हुन्छ। कमिटमेन्टका लागि कुने खडेरी पर्दैन। कमिटमेन्टको वर्षा हुन्छ। तर तपाईहरुले अर्थतन्त्र देख्नु भएको छ। र, म तपाई सहकारी अभियन्ताहरुलाई, सहकारीका कार्यकर्ताहरुलाई भन्नु चाहन्छु–अहिले सहकारी जति मात्रामा बदनाम भएको छ। त्यो बदनाम हुन नपाओस् भन्ने कुरामा पनि तपाईहरुको ध्यान जानु पर्छ। सहकारी बद्नाम हुन नपाओस्। किनभने मान्छेको सहकारीमाथिको विश्वास धर्मरायो भने सहकारीमा कसरी जाने? हाम्रो जस्तो देश, यसका केही विशेषताहरु छन। हामीसँग जमिन सरकारको छैन। जमिन व्यक्तिको छ। निजी पूँजी छ। त्यसकारणले सरकारले चाहेको काम गर्न सक्दैन। अरु देशहरुमा सरकारले चाहेको काम गर्न सक्छ। तर यहाँ त सरकारले जमिन प्राप्त गर्न सक्दैन। यस्तो खालको स्थिति छ।’
अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढन सरकारलाई सुझाव दिए। एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ। ओलीले यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको जिकिर गरे।
अध्यक्ष ओलीले आर्थिक संकटको बेला सहकारीलाई विरोध गर्न नहुने तर्क समेत गरे।
प्रकाशित: २५ चैत्र २०७९ १२:३८ शनिबार