१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

क्रान्तिकारी माओवादी र बहुमतबीच एकता

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक सहमति भएको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीको एकता संयोजन समिति बैठकले आगामी अन्तर्राष्ट्रिय मई दिवस (वैशाख १८ गते सोमबार) अवसरमा पार्टी एकता गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

काठमाडौं अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शुक्रबार भएको कार्यक्रममा पार्टी एकताको औपचारिक घोषणा भने अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिए। उनले अन्य क्रान्तिकारी मालेमावादीहरूसँग पनि पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणका लागि छलफल र बहस भइरहेको बताए।

कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वले नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्धको जारी संघर्षलाई जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्तितर्फ एक साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

पहिला नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एकै ठाउँमा आएका हुन्। दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने आपसी सहमति गरिसकेका थिए। पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६/६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको छ। जसमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका छन् भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन्।

पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठुलो शक्तिका रूपमा देखिएको तत्कालीन नेकपा माओवादी त्यसपछि पटक पटक फुटको शृंखलाबाट गुज्रिएको छ। शान्ति र संविधानको बाटोमा जाने कि देश र जनतालाई मुक्ति दिन जनविद्रोहमा जाने भन्ने विषयले माओवादीमा फुटको शृंखला सुरु भएको थियो।

सबैभन्दा पहिला वैद्य समूह २०६९ असार ४ गते अलग भएको थियो। त्यसपछि २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै डा. बाबुराम भट्टराईले माओवादीभित्र विद्रोह गर्दै नयाँ शक्ति गठन गरे। तर सो समूहमा रहेका रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव लगायत नेकपा माओवादीमै फर्किएका थिए। तीमध्ये अहिले थापाबाहेकका नेता माओवादी केन्द्रमै छन् तर थापाचाहिँ नेकपा एमालेमा प्रवेश गरेका छन्।

वैद्य समूह पनि पटक-पटक विभाजित भयो। वैद्य समूहबाट नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत प्रभावशाली नेताहरू मिली नेकपा गठन गरेका थिए। भूमिगत भएर केही समय हिंसात्मक गतिविधिमा संलग्न भएको सो समूह सरकारसँग शान्ति वार्ता गरी सार्वजनिक भएपछि फेरि विभाजित भयो। विप्लव आर्थिक मामिला तथा संसद्वादमा फसेको भन्दै असन्तुष्ट नेताहरूले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी गठन गरेका थिए।

प्रकाशित: २५ चैत्र २०७९ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App