७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

चितवन २ मा उपनिर्वाचनका लागि कार्यालय स्थापना

चितवन निर्वाचन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। बैशाख १० गते हुन लागेको निर्वाचनका लागि जिल्ला कारागार भरतपुर अगाडिको औद्योगिक व्यवसाय विकाश प्रतिष्ठानको कार्यालयमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो।

कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले स्वच्छ, निस्पक्ष एवम् धाँदलि रहित निर्वाचन गराउने प्रतिवद्धता जनाएका छन्। विगतका निर्वाचनमा जस्तै सुरक्षा निकाय, राजनीतिक दल लगायतका सर्वसाधरणलाई सहयोगका लागि अनुरोध समेत गरे। निर्वाचन गराउनका लागि निर्वाचन आयोगले छोटो समय दिएकाले सोही अनुरुप तयारी गरीएको उनले बताए।  

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निर्वाचनको सुरक्षा व्यवस्थालाई व्यवस्थित गराउने बताएका छन्। ‘हामी सुरक्षा निकायहरु स्वतन्त्र निर्वाचनलाई शान्तिपुर्ण गर्न हामी कटिबद्ध छौँ,’ उनले भने ‘यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ।’

उपनिर्वाचनका लागि चैत्र २० गते मनोनयन दर्ता रहेको छ। २१ गते उमेद्वारको दावि विरोधको समय रहेको छ। २२ गतेसम्म उम्मेद्वारी फिर्ता लिन सक्नेछन्। चैत्र २३ गते मनोनयनको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। मतदान स्थल ४३ र मतदान केन्द्र १ सय ३८ छन्।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने अत्याधिक मतका साथ विजयी भएका थिए। उनले ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्प्रर्धी तत्कालिन राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठले  १४ हजार ९८३ मत ल्याएका थिए।  

बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा रास्वपाबाट लामिछाने नै उम्मेद्वार बन्ने भएका छन्। त्यस्तै सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र  राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष जनकराज शर्मालाई उठाउने निर्णय गरेको छ।  

प्रकाशित: १८ चैत्र २०७९ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App