coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्। यद्यपि मन्त्रालय बाँडफाँटको विषय भने सत्तारुढ दलहरूले टुंगो लगाएका छन्। भागबन्डा बुधबार साँझ नै टुंगो लागे पनि कुन मन्त्रालय कुन दलले पाउने भन्ने विषय बिहीबार बिहान मात्र टुंगो लागेको हो।

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए। चितवनबाट फर्केपछि उनलाई दलहरूले नाम बुझाउने र सोही नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने कार्यक्रम तय भएको थियो। तर दलहरूले नाम नबुझाउँदा मन्त्रिपरिषद विस्तार हुन नसकेको हो। दलहरूले नाम दिन नसकेकाले बिहीबार गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार हुन नसकेको सत्तारुढ दलकै नेताहरूले बताएका छन्। अब शुक्रबार नै मन्त्रिपरिषद् विस्तार हुने र शपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारीमा प्रधानमन्त्री दाहाल रहेको जनाइएको छ।

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम बिहीबार प्रधानमन्त्रीलाई बुझाउन नसकेको बताए। शुक्रबार बिहान सबै दलले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रिमण्डल विस्तार हुने उनको भनाइ छ। प्रधानमन्त्रीलाई नाम बुझाउनुअघि सबै दलले  आआफ्नो पार्टीमा आन्तरिक छलफल गर्नेछन्।

स्रोतका अनुसार नेपाली कांग्रेसले आठवटा मन्त्रालय पाउने भएको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारको नेतृत्व गर्ने भएका छन्। उनले परराष्ट्र वा रक्षा मन्त्रालय पाउनेछन्।

यसैगरी अर्थमन्त्रीमा पार्टीका प्रवक्ता प्रकाशशरण महत तथा सहरी विकासमन्त्रीमा एनपी साउदको सम्भावना छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी धनराज गुरुङ र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मोहन बस्नेतलाई दिने टुंगो लागेको स्रोतको भनाइ छ। न्याय तथा कानुनमन्त्रीमा डिगबहादुर लिम्बू तथा भूमि व्यवस्थामन्त्रीमा सीता गुरुङको नाम टुंगो लागेको स्रोतको भनाइ छ। रमेश रिजालले रक्षा र परराष्ट्रमध्ये एउटा मन्त्रालय पाउने भएका छन्।

माओवादी केन्द्रले पाँचवटा मन्त्रालय पाउने भएको छ। अहिले सो पार्टीबाट चारजना मन्त्री छन्। अब एकजना मन्त्री थपिनेछ। उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएका छन्। सामान्य प्रशासनमन्त्रीमा रहँदै आएका अमनलाल मोदी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जाने भएका छन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रालय पाएको छ। नेकपा एसबाट वेदुराम भुसाल र प्रकाश ज्वाला सरकारमा जाने भएका छन्। जसपाले शिक्षा, विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्त्री मन्त्रालय पाउने भएको छ।

जसपाका नेताका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट सिफारिस गर्ने मन्त्रीको नाम निकै गोप्य राखेका छन्। ‘उहाँले मन्त्रीको नाम आफ्नो गोजीभित्रै राख्नुभएको छ। कसैलाई देखाउनुभएको छैन। राष्ट्रपति कार्यालयमा बुझाउनुभन्दा एक घन्टाअघि मात्र नाम दिने तयारी गर्नुभएको छ,’ जसपाका एक कार्यकारी सदस्यले भने, ‘त्यसैले जसपाबाट सरकारमा को जान्छ भन्ने अन्योल छ। यसबारे अध्यक्षज्यूबाहेक कसैलाई थाहा छैन।’

जसपाको कार्यकारिणी समितिको बैठकले जसपाबाट नाम छान्ने अधिकार पार्टी अध्यक्ष यादवलाई दिएको छ। सरकारमा जाने व्यक्तिको नाम सार्वजनिक गर्नेबित्तिकै पार्टीमा विवाद उत्पन्न हुने भएकाले नाम गोप्य राखिएको जसपाका नेताहरूको बुझाइ छ।

स्रोतका अनुसार जसपाबाट अशोक राईले सरकारमा पार्टीको नेतृत्व गर्ने सम्भावना छ। सोही पार्टीबाट राजकिशोर यादव, प्रदीप यादव र रेखा यादवमध्ये एकजनाको नाम सिफरिस हुन सक्ने सम्भावना रहेको स्रोतले बतायो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने नाम टुंगो लगाएको छ। लोसपाबाट शरतसिंह भण्डारी सरकारमा जाने भएका छन्। उनले श्रम तथा रोजगार मन्त्रालय पाउने भएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) ले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने भएको छ।

त्यसैगरी नेसपाबाट महिन्द्र यादव सरकारमा जाने भएका छन्। सो पार्टीबाट उनी मात्र प्रतिनिधिसभा सदस्य हुन्। जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ। जनमत पार्टीक अध्यक्ष सिके राउतले सुरुदेखि नै उद्योग वाणिज्य मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका थिए। यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ। यसबाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो।

यही बुधबार भएको भागबन्डामा २२ वटा मन्त्रालयको टुंगो लागेको हो। गत पुस १० गते बनेको एमाले र माओवादी केन्द्रबीचको गठबन्धन भत्केपछि प्रधानमन्त्री पुष्पकमल दाहालले १६ वटा मन्त्रालयको भार एक्लै बोक्दै आएका छन्। यस अवधिमा दाहालले संसद्बाट दुईपटक विश्वासको मत लिइसकेका छन्।

प्रकाशित: १७ चैत्र २०७९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App